काठमाण्डौ । नेपालमा पहिलोपटक भएको आँप मेला सम्पन्न भएको छ । किसान भेन्चर र काठमाण्डौ अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाण्डौ र ललितपुरका विभिन्न स्थानमा मेला भएको थियो ।
मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र ३२ हजार किलो आँप बिक्री भएको आयोजकले जनाएको छ । मेलामा सर्लाही,सप्तरी र सिराहाका ५० जना किसानहरुबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरु प्रदर्शनीमा राखिएका थिए ।
मेलामा आँपको अचार बनाउने,प्रशोधन गर्ने प्रविधि पनि राखिएका थिए । प्रख्यात शेफा सन्तोष शाह पनि अन्तिम दिन द गार्डेन झम्सिखेलमा नेपाल म्याङ्गो फेस्ट हेर्न आउनुका साथै विभिन्न सेफहरुले पाउडर, स्टिकी राइस,आँप स्मृद्धि,सुख्खा आँप क्रस जस्ता ५० भन्दा बढी आँपबाट बन्ने उत्पादनहरुको प्रदर्शन गरी आफ्नो पाक कौशल प्रस्तुत गरेका थिए ।
आँप मेलाको सफलतासँगै किसान भेन्चरको सीईओ राजेश कार्कीले यसै वर्ष स्याउ,सुन्तला,जुनार र टिमुरको मेला पनि आयोजना गर्ने घोषणा गरे ।