काठमाण्डौ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कले उद्योग व्यवसायलाई अप्ठ्यारो पर्ने नीतिमा बाँधेको भए डोरी देखाइदिए फुकाउन तयार रहेको बताएका छन्।
मंगलबार नेपाल राष्ट्र बैङ्कसँग महासङ्घले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैङ्कले कर्जा नरोकेको बताएका हुन्।
पछिल्लो समय सबैले नेपाल राष्ट्र बैङ्कले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै उनले आरोपको खण्डन गरे।
उनले भने, ‘राष्ट्र बैङ्कले बाँधेको डोरी देखाउनुपर्छ। हामी बाँधेको डोरी फुकाइदिन्छौँ। त्यतिकै बोल्नु भएन। आन्तरिक कच्चा पदार्थ प्रयोग गर्ने व्यवसायीलाई दुई प्रतिशत भन्दा बढी लगाउन नपाउने स्पष्ट व्यवस्था छ। बैङ्कले पनि त्यो भन्दा बाहिर जान पाउँदैन। गएको पायो भने राष्ट्र बैङ्कलाई जानकारी गराउनु होला। मौद्रिक नीतिको अन्तिम रूपमा छौँ।’
उनले कोभिडको बेलामा राष्ट्र बैङ्कले दिएको सुविधाले व्यवसाय बाँचेको बताए। त्यतिबेला राष्ट्र बैङ्कले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको उनको भनाइ छ।
उनले राष्ट्र बैङ्कले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको बताए। राष्ट्र बैङ्कले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने उल्लेख गरे।
यस्तै,उनले घरजग्गा कारोबार, साना तथा घरेलु उद्यममा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैङ्क मौद्रिक नीतिमार्फत क्षेत्रगत रूपमा दिनसक्ने सहजता अपनाउने बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।