काठमाण्डौ। शव जलाउन प्रयोग गरिने दाउराको मूल्य बढेको छ। वन निगम लिमिटेडका अनुसार असार १४ गतेपछि दाउराको मूल्य बढेको हो। असार १३ गतेसम्म एउटा शव जलाउने दाउराको मूल्य तीन हजार रूपैयाँ तोकिएको थियो। असार १४ गतेपछि भने तीन हजार ३९० रूपैयाँ पुगेको वन निगम पशुपति डिपोले जनाएको छ।
आर्थिक विधेयक २०८१ बाट सरकारले दाउरामा पनि भ्याट लगाउन सुरू गरेपछि मूल्य बढेको हो।
जेठ १५ गते प्रस्तुत गरेको आर्थिक विधेयकले दाउरालाई भ्याट लागू नहुने सूचीबाट हटाएको थियो। निगमले भने असार १४ गतेपछि मात्रै भ्याटसहित मूल्य बढाएको हो।
यस्तै,बाल्ने दाउरा, मुढा, चिरेको मोटो टुक्रा (विलेट), हाँगाबिँगा वा दाउराको बाधेको बिटो जस्ता काठका चोइटाचोइटी वा मसिना टुक्राटाक्री (पार्टिकल) काठ चिरेको धूलो, काठको अवशेष, रद्दी वस्तु, मुढोलगायतका वस्तुहरु भ्याट छुटबाट हटाएको जनाइएको छ।