काठमाण्डौ । गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । प्रदेश सरकारले माग सम्बोधन नगरेकोे भन्दै गण्डकी प्रदेशका यातायात व्यवसायीहरु राइड सेरिङको विरोधमा उत्रिएका कारण आज बिहानैदेखि सार्वजनिक यातायात ठप्प भएको हो ।
शनिबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीले सार्वजनिक यातायातका व्यवसायी र मजदुरलाई सेवा ठप्प पार्न आह्वान गरेको थियो । दुई पांग्रे र चार पांग्रे सवारीलाई राइड सेयरिङ सञ्चालन गर्न नदिन यातायात व्यवसायीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा बिहीबार ७ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।
व्यवसायीले दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारी साधनलाई यात्रु ओसारपसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । यातायात सेवा अवरुद्ध हुँदा आम सर्वसाधारण मर्कामा परेका छन् ।