काठमाण्डौ। इलामको फिक्कलस्थित अलैँची विकास केन्द्रले बितेको वर्ष अलैँचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ। प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको हो।
देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्रले जनाएको छ। केन्द्रबाट यो वर्ष ताप्लेजुङ, पाँचथरसहित देशका पश्चिमी जिल्लामा अलैँची बिरुवा लगिएका छन्। केन्द्रले रामसाही र गोलसाही जातको अलैँचीका बिरुवा उत्पादन गरी बेचेको केन्द्रको भनाइ छ।
अलैँची खेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न १० जिल्लामा अलैँचीका ४० नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरेको छ।