काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटासमेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिमा बुझाएको छ। लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको प्रमाण मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो।
शुक्रबार बसेको लेखा समिति बैठकले प्राधिकरणसँग टिओडी मिटरको विवरण माग्ने निर्णय गरेको थियो। त्यसपछि सोमबार समितिले पत्राचार गरेर प्राधिकरणलाई तीन दिनभित्र विवरण पठाउन आग्रह गरेको थियो। लोडसेडिङको समयमा उद्योगहरूलाई अतिरिक्त विद्युत उपलब्ध गराइएको र त्यस्ता ६१ उद्योगले प्रिमियम शुल्क उपलब्ध नगराएको नेपाल विद्युत प्राधिकरणले बताउँदै आएको छ।
केही ठूला उद्योगीहरूले भने प्राधिकरणले फर्जी बिल थमाएको भन्दै यस्तो रकम तिर्न नै अस्वीकार गर्दै आएका छन्। यो विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरेको छ।