काठमाण्डौ। घर पालुवा जनावरलाई पनि अब हवाई यात्रा गर्दा सँगै लान सकिने भएको छ। श्री एयरलाइन्सले छिट्टै यो सुविधा ल्याउने तयारी गरेको छ। एयरलाइन्सले यात्रुको सहजता र आवश्यकतालाई मध्यनजर गर्दै यस्तो उडानको तयारी गरेको हो।
यसअघि कोभिडअघि पनि आन्तरिक उडानमा घरपालुवा जनावर बोकेर जान पाइन्थ्यो। कोभिडपछि भने अब श्री एयरलाइन्सले सुरू गर्न लागेको हो। कम्पनीका अनुसार यात्रुले यसका लागि सुरूमा आफ्नो जनावरको भेटनरी डाक्टरबाट चेकजाँच गरी फिट टु फ्लाइट र क्वारेन्टाइन सर्टिफिकेट लिनुपर्नेछ। यो प्रकिया पूरा गरेपछि मात्र उडान गर्न पाइने बताइएको छ।
धेरै यात्रुहरूले घरमा पालेका जनावर विशेषगरी कुकुर पनि साथमै लैजान पाउने भन्ने माग गरेपछि यो व्यवस्था ल्याइएको जनाइएको छ।यसका लागि भेटनरी डाक्टरबाट सर्टिफिकेट लिएको हुनुपर्नेछ। यात्रा गर्दा भाडादर भने दोब्बर नै तिर्नुपर्ने कम्पनीले जनाएको छ।