काठमाण्डौ। पछिल्लो तीन वर्षमा ४ हजार नेपाली विदेशबाट फर्काइएका छन्। अध्यागमन विभागका अनुसार वैदेशिक रोजगार, अध्ययन लगायत विभिन्न कामका लागि विदेश पुगेका नेपालीमध्ये सन् २०२१ देखि २०२४ अगस्ट ६ सम्म तीन हजार ९३७ जना स्वदेश फर्काइएका हुन्।
विभागका अनुसार विदेश पुगेका नेपालीहरु सम्बन्धित देशको अध्यागमनबाट प्रवेश अस्वीकार भएर र गैरकानुनी क्रियाकलापका कारण नेपाल फर्काइएका छन्। हरेक वर्ष विदेशबाट फर्काइने नेपालीहरुको संख्या बढ्दो छ। विभागका अनुसार सन् २०२१ मा ८७९ नेपालीहरु फर्काइएका थिए।
सन् २०२२ मा यो सख्या बढेर १ हजार १६६ पुग्यो भने, सन् २०२३ मा १ हजार ४४२ नेपालीहरु फिर्ता फर्काइएका हुन्। २०२४ को सात महिनामा ४८९ जना नेपालीहरु फर्काइएका अध्यागमन विभागले जनाएको छ।
पछिल्लो तीन वर्षमा नेपालको प्रमुख श्रम गन्तव्य युएईबाट ७९९, साउदी अरेबियाबाट ५०३, मलेसियाबाट ३८९, कतारबाट १८० जना स्वदेश फर्काइएका छन्।
यस्तै, टर्कीबाट २५७, जापानबाट १८०, दक्षिण कोरियाबाट १४९, युक्रेनबाट १२४, रसियाबाट १०७, रोमनियाबाट ९४, अमेरिकाबाट ९३, क्रोएसियाबाट ७८ र साइप्रसबाट ८९ जना नेपाली फर्काइएका छन् भने फर्केर फेरि जाने गरेका देशको सूचीमा कतार पहिलो नम्बरमा देखिएको छ।
वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ।