काठमाण्डौ। हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनः सुरु गर्ने भएको छ। कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सिधा उडान पुनः सञ्चालन गर्न लागेको हो।
यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बिचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो।
सुरुआतमा, एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागका आधारमा उडान थप्ने योजना बनाएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ।
काठमाडौँ–कुवेत उडान राति १२ बजेर ४० मिनेटमा र कुवेत–काठमाडौँ उडान बिहान ४ बजेर १५ मिनेटमा उडान भर्नेछ।