काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले पहिलापटक प्रतिऔंस २५ सय डलरको आँकडा पार गर्दै नयाँ रेकर्ड कायम गरेको हो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य एकैदिन २.०६ प्रतिशत अर्थात ५०.६३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ५०८.१८ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यो वर्ष सुनको मूल्य २० प्रतिशतभन्दा बढीको वृद्धि भईसकेको छ । सुनले प्रतिफल नदिने भएकाले विश्वका केन्द्रीय बैंकहरुले ब्याजदरका कटौती गरेका बेला लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको रुपमा लिने गर्छन् ।
अमेरिकी केन्द्रीयक बैंक,‘फेडरल रिजर्भ’ले आगामी सेप्टेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्ने सम्भावना अधिक बनेपछि सुनको मूल्यमा व्यापक वृद्धि भएको छ । अमेरिकामा फेडरल रिजर्भले आगामी महिना २५ बेसिक प्वइन्टले ब्याजदरमा कटौती गर्न सक्ने अनुमान गरिएको छ ।
गत महिना जेपी मोर्गनले फेडरल रिजर्भको ब्याजदरको कटौतीले सुनको मूल्य बढ्ने तर चौथो त्रैमाससम्म मात्रै सुनको मूल्य प्रतिऔंस २५ सय डलर पुग्ने प्रक्षेपण गरेको थियो ।
एफएक्स प्रोमा वरिष्ठ बजार विश्लेषकका रुपमा कार्यरत एलेक्स कुप्टसीभिकले सुनको मूल्य प्रतिऔंस २८ सय देखि २९ सय डलरसम्म पुग्न सक्ने बताएका छन् ।
तर ट्रेड नेशनका वरिष्ठ बजार विश्लेषकले भने प्रफिट बुकका कारण सुनको मूल्य प्रतिऔंस २४५० सम्म आउन सक्ने अनुमान गरेका छन् । जोखिम र अनिश्चिनता व्याप्त भएका बेला बुहमूल्य धातु सुनलाई सुरक्षित लगानीको रुपमा लिइने गरिन्छ । यतिबेला मध्य–पूर्वमा चुलिएको भू–राजनितीक विवाद र अमेरिकी केन्द्रीय बैंकको ब्याजदरको कटौतीको उच्च सम्भावनाले सुनको मूल्य नयाँ उचाईमा पुगिरहेको छ ।
यस्तै अमेरिकी राष्ट्रपतिको निर्वाचनमा दोस्रोपटक डोनाल्ड ट्रम्प विजेता बन्न सक्ने सम्भावनाले पनि सुनको मूल्यवृद्धिलाई बल पुर्याईरहेको छ ।