शुक्रबार, असार १३,२०८२ 09:24:14
  • शुक्रबार, असार १३,२०८२ 09:24:14
Global IME Bank Limited

कुर्दा–कुर्दा लगानीकर्ताको आँखा टट्याए, तर आएनन् प्रधानमन्त्री

अर्थमन्त्रीले भने-'हामीले केही नगर्दै यत्रो उत्साह छ, काम हुन थालेपछि के होला ?'

Hyundai Nepal
कुर्दा–कुर्दा लगानीकर्ताको आँखा टट्याए, तर आएनन् प्रधानमन्त्री
Nabil Bank Limited

काठमाण्डौ । शुक्रबारको दिन । त्यसै पनि सेयर लगानीकर्ताहरु फुर्सदिलो हुने विशेष दिन । लागेका(चलेका) कार्यालय समेत आधा समय मात्र खुल्ने यो दिन शुक्रबार मनाउनेको उस्तै चाप हुन्छ ।  

विशेष गरी सेयर लगानीकर्ता यो दिन सेयर कारोबार नहुने हुँदा परिवारसँग घुम्न, विशेष भेटघाटमा रमाइलो गर्न तथा अध्ययनमा समय खर्चिन्छन् । भदौ ७ गते शुक्रबारको दिन भने काठमाण्डौमा रहेका धेरै लगानीकर्ताहरु बिहान १०ः३० बजेसम्म बानेश्वरस्थित एभरेष्ट होटलमा पुगिसकेका थिए ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योगी तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा विशेष सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रमबारे जानकारी पाएर सेयर लगानीकर्ता कार्यक्रमस्थलमा उर्लिएका थिए । 

CG Motors
Muktinath Bikas Bank Limited

एभरेष्ट होटलको कार्यक्रम हल सम्भवतः धेरै समयपछि खचाखच भरिएको मात्र थिएन, मान्छे बस्ने ठाउँ नभएपछि हलबाहिरदेखि होटल आसपासका खुल्ला क्षेत्रमा समेत असरल्ल देखिन्थे ।  

सत्तारुढ घटक नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको महासंघका पदाधिकारीहरु भने आफ्नो कार्यक्रममा उद्योगी व्यापारीको ओइरो लागेको देखेर मख्ख थिए । तर, त्यहाँ उनीहरुका सदस्यभन्दा पनि सेयर लगानीकर्ताहरुको थामिनसक्नुको उपस्थिति थियो ।  

खचाखच भरिएको कार्यक्रम हल । 

बिहान ११ बजेदेखि कार्यक्रम आयोजना गर्ने भनिएको थियो । तर, डेढघण्टासम्म कार्यक्रम सुरुसम्म पनि भएको थिएन । यो बीचमा बेला–बेला उद्घोषकले प्रधानमन्त्री र अर्थमन्त्री आउँदै गर्नुभएको छ भन्दै उपस्थितहरुलाई भन्दै गर्थे ।  

निर्धारितभन्दा डेढघण्टा ढिलोगरी कार्यक्रम सुरु भएपछि समय नहुने कतिपय उद्योगी/व्यवसायी भने आयोजकसँग रिसाएर हिँडेका देखिन्थे । वरिष्ठ व्यवसायी तथा भेटेरान सेयर लगानीकर्ता उमेशलाल श्रेष्ठ तिनैमध्येका एक पात्र थिए, उनी कार्यक्रम डेढघण्टाभन्दा पनि ढिलो भएको भन्दै निस्किएर हिँडेका थिए । अरु केही उद्योगी–व्यवसायी पनि ‘आफूहरुसँग समय नभएको, प्रधानमन्त्रीजस्तो व्यक्तिले समयको महत्व नबुझेका’ भन्दै कार्यक्रमस्थलबाट हिँडेका थिए ।  

तर, यति हुञ्जेलसम्म पनि सेयर लगानीकर्ता भने पर्खिएरै बसेका थिए । करिब पौने १ बजेदेखि कार्यक्रमको सुरुवात गरियो, प्रधानमन्त्री र अर्थमन्त्रीबिना नै ।  

कार्यक्रमको मञ्चमा विशेष चेयर प्रधानमन्त्रीका लागि कुसनसहित राखिएको थियो । छेउछाउमा अर्थमन्त्री लगायतका विशिष्टहरुलाई स्वागत गर्ने गरी व्यवस्था मिलाइएको थियो ।  

कार्यक्रम सुरु भएको केही समयपछि अर्थमन्त्री झुल्किए । त्यतिबेलासम्म पनि प्रधानमन्त्री आउने आशामा लगानीकर्ताहरु कुरिरहेकै थिए । बरु कार्यक्रमस्थलमा सहभागिता अझ बढ्दो थियो ।  

खचाखच भरिएको कार्यक्रम हल । 

निजी क्षेत्रका प्रतिनिधिहरुले बोल्ने क्रम सुरु भयो । उद्योग परिसंघबाट राजेश्व अग्रवाल, नेपाल चेम्बर अफ कमर्सबाट कमलेश अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघबाट चन्द्र ढकालले क्रमैसँग बोलेका थिए ।  

उनीहरुले बोल्दा जब–जब सेयर बजारका कुरा आउँथे, तब हलभित्र तालीको गड्गडाहट र हुटिंग सुनिन्थ्यो । यसले समेत सो हलमा अधिकांश सेयर लगानीकर्ता थिए र उनीहरु कति उत्साहित छन् भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो ।  

चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बोलिरहेका थिए । त्यहीबेला केहीबेरअघिसम्म मुख्य स्टेज, कार्यक्रम हलको मुख्य प्रवेश द्वार, हलको सबै कुनातर्फ हाइअलर्टमा बसेका सुरक्षाकर्मी बिस्तारै बाहिर निस्किन थाले । त्यसपछि बुझ्नेले बुझिहाले ः सुरक्षार्थ खटिएका सुरक्षाकर्मी नै हिँडेपछि प्रधानमन्त्री आउने कार्यक्रम रद्द भयो ।

यो विषयमा कार्यक्रम आयोजकलाई बेलैमा जानकारी भए पनि बाक्लो उपस्थिति देखेर प्रधानमन्त्री नआउने विषय भनिएन ।  

बरु उल्टै ‘प्रधानमन्त्री आउँदै हुनुहुन्छ’ भनेर लगानीकर्तालाई झुक्याइरहने काम भयो ।  

कार्यक्रमस्थलमा कुर्सी अपुग भएर होटलबाहिर बसेर ओली कुरिरहेका महिला लगानीकर्ता । 

आयोजकले प्रधानमन्त्री आउनुहुन्छ भनिरहँदा स्वयम् प्रमले भने सामाजिक सञ्जाल एक्स(ट्वीटर)बाट आफू स्वास्थ्यमा समस्या देखिएको भन्दै कार्यक्रममा आउन असमर्थ रहेको जानकारी सार्वजनिक गरिसकेका थिए ।  

यसरी करिब साढे ३ घण्टा प्रधानमन्त्रीलाई कुरेर बसेका लगानीकर्ता निराश भएर फर्किए ।  

आजको यो कार्यक्रममा धेरै लगानीकर्ताहरुसम्म प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने खबर पुर्याइएको थियो । सेयर बजारको विषयमा समेत विशेष घोषणा गर्ने भनेर समेत कतिपयले लगानीकर्तालाई बोलाएका थिए । तर, विशेष घोषणा सुन्न त्यहाँ गएका सयौं लगानीकर्ता खिस्स परेर फर्किए ।  

अर्थमन्त्रीले के भने ?

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र अर्थतन्त्रको कुरा बढी गरे । सेयर बजारको विषयमा धेरै चर्चा गरेनन् ।  

गत वर्षभन्दा राजश्व बढेको, घरजग्गा चल्न थालेको, पूँजीगत खर्च ९ गुणाले वृद्धि भएको लगायतका रिपोर्ट कार्ड सुनाएका उनले भने–‘हामीले केही नगर्दै सेयर बजार लगायतमा यति ठूलो उत्साह छ । हामीले साच्चिकै काम गर्न थालेपछि के हुन्छ होला ?’ अर्थमन्त्रीको भनाईसँगै हलमा पर्रर ताली पड्कियो ।  

उनले अर्थतन्त्रको समस्या समाधान नभएको उल्लेख गर्दै त्यसमा सरकार दत्तचित्त भएर लागिपर्ने पनि प्रष्ट पारे ।  

अहिलेको अवस्थामा एमाले कांग्रेस गठबन्धनको सरकार नै सबैभन्दा बलियो रहेको भन्दै उनले निजी क्षेत्रलाई सरकारलाई अभिभावक ठान्न र समस्याहरु समाधानका लागि सहयोग गर्न आग्रह गरे ।  

उनले सरकारमाथि वित्तीय दवाब रहेको भए पनि निर्माण क्षेत्र लगायतका भुक्तानीहरु गर्न थालिएको र अब अर्थतन्त्रका सबै क्षेत्र चलायमान गर्ने गरी नीति बनाइने दाबी समेत गरे ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.