काठमाण्डौ । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य रु. १०० दरका ६ लाख ४४ हजार कित्ता आइपिओ निष्काशन गर्ने तयारी गरेको हो ।
कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
आज मङ्सिर १० गते बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरीस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरले हस्ताक्षर गरे ।
भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य बस्तुहरु उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको छ । अत्याधुनिक सिट मोल्डिङ कम्पाउण्ड प्रविधिमा आधारित कभरहरू, डब्लु पी सी उच्च घनत्व hollow ढोका (WPC High Density Hollow Door), पार्टेशन बोर्ड एवम् वाल क्याडिङ्ग, वाल प्यानल जुन पानी, किरा, घाम र चिसोपन प्रतिरोधी हुनुका साथै दिगोपनाको दृष्टिले उत्कृष्ट, बलियो, टिकाउ र दीर्घकालीन प्रयोगका लागि उपयुक्त छन् ।
Fiber Reinforced Plastic Technology अन्तर्गत ढोका, झ्याल, ढोका–झ्यालको फ्रेम, फाइबर सिट, फाइबर बाथ टब, फाइबर स्लाइड तथा अन्य सबै प्रकारका फाइबर उत्पादनहरू उच्च गुणस्तरमा उत्पादन गर्दै आईरहेको छ ।

