काठमाण्डौ । चालु आर्थिक वर्षको दुई महिनामा ९४ अर्ब बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आवको साउन र भदौमा ९४ अर्ब ५२ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो ।
यससँगै तिर्न बाँकी सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४(३२ प्रतिशत हुन आउँछ। यसमध्ये आन्तरिक जीडीपीको २१.६६ र बाह्य २२.६६ प्रतिशत रहेको छ । कुल ऋणमा आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब र बाह्य ऋण १२ खर्ब ९२ अर्ब रुपैयाँ छ ।
हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणाको हिस्सा ४९ र बाह्यको ५१ प्रतिशत रहेको छ । सार्वजनिक ऋणको आकार हेर्दा हरेक नेपालीको भागमा करिब ८६ हजार रुपैयाँ बराबर पर्न आउँछ ।
गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब थियो ।
भदौ महिनासम्म सरकारले १ खर्ब ४ अर्ब सार्वजनिक ऋण उठाएको छ । जसमध्ये आन्तरिक ऋण ९० अर्ब लिइएको छ भने वाह्य ऋण १४ अर्ब ५ करोड लिइएको छ ।
यस्तै भदौसम्म सरकारले ४७ अर्ब ७१ करोड रुपैयाँ बजेट ऋण भुक्तानीमा खर्च गरेको छ । यो लक्ष्यको ११.८४ प्रतिशत हो ।