काठमाण्डौ । वीपी राजमार्ग दशैं अगाडि नखुल्ने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको हो ।
आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नमिल्ने अवस्था रहेको बताए । मन्त्रालय र सडक विभागको टोलीले बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बाढीले क्षति पुर्याएको वीपी राजमार्गको निरीक्षण गरेको थियो ।
गत असोज ११ गते आएको रोशी खोलामा आएको बाढीका कारण वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डको १२ किलोमिटर सडक बगेको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । सम्मेलनमा सचिव शर्माले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुने बताए ।
यस्तै अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिने तर ३–४ ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने पनि हुन सक्ने शर्माले बताए । उनले विकल्पको रुपमा सित्खाबाट मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौं आउने रुट प्रगोग गर्न सकिने बताए ।