काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत साढे एक अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म १४ बीमा कम्पनीले यस्तो बीमा व्यसायमार्फत १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा १४.३४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख व्यवसायमार्फत १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ प्रिमिमय भित्र्याएका थिए ।
चालु आवमा हिमालयन लाइफ र तीन लघुबीमा गरी ४ वटा कम्पनीले यस्तो व्यवसाय थालनी गरेकाले समग्रमा यस्तो व्यवसाय बृद्धि देखिएको हो । तर वैदेशिक रोजगार बीमालेख बिक्री गरेका अधिकांश कम्पनीको यस्तो व्यवसाय भने गत आवको तुलनामा खस्किएको छ ।
हाल ११ ठूला बीमक र तीन लघुबीमक गरी १४ कम्पनीले वैदेशिक रोजगार व्यवसाय गर्दै आइरहेका छन् । जसमध्ये एशियन लाइफ, सन नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफको मात्रै यस्तो व्यवसाय बढेको छ भने बाँकी कम्पनीको घटेको देखिएको छ ।
गत वर्षको तुलनामा वैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्या बृद्धि हुँदा बीमा कम्पनीहरुको यस्तो व्यवसाय बढेको हो । नेपाल राष्ट्र बैंकका अ नुसार चालु आवको ५ महिनासम्ममा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ९० हजार ३८४ रहेको छ । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा १०।७० प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म यस्तो संख्या १ लाख ७१ हजार ३८४ थियो ।
त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या पनि गत आवको तुलनामा ३२।०७ प्रतिशत बृद्धि भएको छ । गत आवको ५ महिनासम्म पुनः श्रम स्वीकृति लिइ विदेशीने नेपालीको संख्या १ लाख २ हजार ५४२ रहेकोमा चालु आवको यसै अवधिसम्म १ लाख ३५ हजार ४२५ पुगेको छ ।
वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै केही कम्पनीले यस्तो व्यवसायमार्फत हुने बीमाशुल्क आर्जन उल्लेख्य बढाएको छ । साथै लघुबीमा कम्पनीहरु पनि विशेषगरी वैदेशिक रोजगार बीमालेख बिक्री गर्न सक्रिय देखिएका छन् ।
चालु आवको दोस्रो त्रैमाससम्म यस्तो व्यवसायमार्फत सर्वाधिक सन नेपाल लाइफले ६८ करोड ६२ लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ । यो रकम गत आवको तुलनामा ८५।९० प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म सन नेपालले वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत ३६ करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
त्यस्तै, एशियन लाइफले पनि ३५ करोड ३१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो बीमाशुल्क आर्जन गत आवको तुलनामा १७८.८९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले १२ करोड ६६ लाख रुपैयाँ मात्रै प्रिमिमय संकलन गरेको थियो । एशियन लाइफले वैदेशिक रोजगारमा जाने नेपालीहरुको बीमा गराउने हेतुले विभिन्न मेनपावरहरुसँग समन्वय गर्दै आइरहेको छ ।
साथै आइएमई लाइफले ९ करोड ८४ लाख, सानिमा रिलायन्स लाइफले ८ करोड ४ लाख, सुर्यज्योति लाइफले ६ करोड ७७ लाख, रिलायबल नेपाल लाइफले ६ करोड २८ लाख, सिटिजन लाइफले ४ करोड ७६ लाख, हिमालयन लाइफले २२ लाख, प्रभु महालक्ष्मी लाइफले १५ लाख, गार्डियन माइक्रो लाइफले ९ लाख, लिवर्टी माइक्रो लाइफले ८ लाख र क्रेष्ट माइक्रो लाइफले ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
गत आवको तुलनामा सर्वाधिक यस्तो प्रिमियम घट्ने कम्पनीमा भने नेपाल लाइफ रहेको छ । कम्पनीको यस्तो व्यवसाय ५४.२३ प्रतिशतले घटेको छ ।