काठमाण्डौ । यो साता सेयर बजार ४ दिन मात्र खुल्नेछ । अर्थात, यो साताको अन्तिम कारोबार दिन भोलि(बुधबार) हो । यो साताको मात्र नभई फागुन महिनाकै अन्तिम कारोबार दिन पनि हो ।
नेप्से परिसूचक निरन्तर घटिरहेको अवस्थामा सार्वजनिक विदा परेर एकदिन बजार सञ्चालन नहुँदा व्यापारी तथा लगानीकर्ताहरुले थोरै भए पनि राहात महसुस गर्नसक्छन् ।
बुधबार(फागुन २८ गते) कारोबार भए पनि बिहीबार(फागुन २९ गते) भने पहाडको होली परेका कारण सार्वजनिक विदा हुनेछ ।
यो पटक फागुन २९ दिनको महिना हो । अर्थात शुक्रबार चैत १ गते पर्नेछ । चैत २ गते शनिवार साप्ताहिक विदाको दिन हो । यसरी बजार फागुन २८ गते बुधबार खुलेर बन्द भएपछि चैत ३ गते आइतबार मात्र पुनः खुल्नेछ । चैतमा भने शनिवारबाहेकका कुनै पनि सार्वजनिक विदा परेको छैन ।
सेयर बजारका लगानीकर्ताका लागि असहिष्णु गभर्नर महाप्रसाद अधिकारी चैत ५ गतेदेखि विदामा बस्दैछन् । जसका कारण भोलि खुलेर बन्द भएपछि चैत ३ गतेदेखि खुल्ने बजारले राम्रो गति लिनसक्ने लगानीकर्ताहरुको आँकलन छ । किनभने गभर्नर अधिकारीको बहिर्गमनलाई सेयर बजारले राम्रै अंकको बढोत्तरीसहित सेलिब्रेसन गर्नसक्ने आँकलनहरु हुने गरेका छन् ।