काठमाण्डौ । अर्थशास्त्री डा. विश्व पौडेल गभर्नर बन्ने पक्कापक्की भएको छ । सर्वोच्च अदालतले समेत पौडेललाई गभर्नर बन्न बाटो खुल्ला गरिदिएपछि कानूनी हिसाबबाट पनि उनी गभर्नर बन्ने पक्कापक्की बनेको हो ।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पौडेललाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।
अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च प्रशासनले गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएसँगै कानुनी हिसाबले समेत उनलाई गभर्नर बन्ने बाटो खुला भएको हो ।
राजनीतिक रूपमा यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको छ ।