काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पाकिस्तानलाई कडा सन्देश दिएका छन् । अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदी आज पाकिस्तान सिमाना नजिकै राजस्थानको बिकानेर पुगेका छन् । पाकिस्तानलाई चेतावनी दिँदै मोदीले आफ्नो दिमाग चिसो भए पनि रगत तातो भएको र यो गर्मीले पाकिस्तानलाई जलाउन तयार भएको बताए ।
प्रधानमन्त्री मोदीले भारतले हरेक आतंकवादी हमलाको जवाफ दिने बताउदै यो जवाफले पाकिस्तानी सेना र अर्थतन्त्र दुवैले घुँडा टेक्ने दाबी गरे। उनले भने,‘पाकिस्तानले बिर्सेको छ कि भारत अब उस्तै भारत रहेन। मेरो शरीरमा रगत छैन, तर तातो सिन्दुर बगिरहेको छ।’
मोदीले पाकिस्तानले भारतलाई सीधा लडाइमा कहिल्यै हराउन नसक्ने बताए । ‘बारम्बार हार बेहोरेको यो छिमेकी अहिले पनि आतंकको बाटोमा हिँडिरहेको छ । कुनै समय पाकिस्तानको गौरव मानिएको रहिम खान एयरबेस भारतीय सेनाको आक्रमणबाट ध्वस्त भएपछि अहिले आईसीयूमा छ,’ उनले भने ।
पाकिस्तानले भारतीय नल एयरबेसमा आक्रमण गर्ने प्रयास गरेको तर त्यो पूर्ण रूपमा असफल भएको समेत उनले बताए ।
प्रधानमन्त्रीले कडा स्वरमा अब पाकिस्तानसँग व्यापार वा वार्ता केही पनि नहुने बताए ।