काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा लगानीकर्ताहरु बढी ‘लो क्याप’ वा ‘अल्ट्रा लो क्याप’ कम्पनीतर्फ आकर्षित छन् । सेयरबजारले भनेजस्तो गति लिन नसक्दा हाई क्याप वा फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु ओझेलमा परेका छन् ।
वित्तीय रुपमा सशक्त कम्पनीहरु चल्न नसक्दा सेयरबजारले गति लिन सकिरहेको छैन । सूचीकृत कम्पनीहरुमा बैंक र बीमा कम्पनीहरुको वित्तीय अवस्था तुलनात्मक रुपमा बलियो मानिन्छ । तर दोस्रो बजारमा लगानीकर्ताहरु वित्तीय रुपमा बलिया कम्पनीमा चासो राख्दैनन् ।
आधारभुत पक्ष कमजोर भएपनि सूचीकृत सेयर संख्या कम अर्थात् पूँजी थोरै भएका कम्पनीमै लगानीकर्ताको क्रेज देखिन्छ । जस्तै अहिले कम पूँजी भएका हाइड्रो कम्पनी र विकास बैंकहरु चलेका छन् । केही महिनाअघि कम पूँजी भएका फाइनान्स कम्पनीहरु निकै चलेका थिए ।
यसरी कम पूँजी भएका कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दै जाँदा बजारमा सेक्टर रोटेसन भएको देखिएको छ । विशेषगरी फाइनान्स, विकास बैंक र हाइड्रो सेक्टरमा लो क्याप कम्पनी धेरै भएकाले यी तीनवटा सेक्टरमा बढी रोटेसन भइरहेको देख्न सकिन्छ ।
केही समयअघि लगानीकर्ताको चार्म देखिएको बीमा सेक्टर यतिबेला छाँयामा परेको छ । बीमा सेक्टरमा अहिले सूचीकृत कम्पनीको संख्या २७ छन् । जसमा जीवन बीमातर्फ १४ र निर्जीवन बीमातर्फ १३ पुगेका छन् ।
यो सेक्टरमा सूचीकृत कम्पनीको संख्या पनि थपिनु र त्यसैमाथि पूँजी बृद्धिले चार्म हराउँदै गएको लगानीकर्ताहरुको भनाई छ । विशेषगरी अहिले बजारमा लो क्याप ट्रेन्ड चलिरहेको अवस्थामा इन्स्योरेन्स सेक्टरमा त्यति आकर्षण नदेखिएको बजार जानकार अजयसिं थापा (जय शम्भु)बताउँछन् ।
‘बजारमा अहिले लो क्यापिटल भएका कम्पनीहरु छानेर किन्ने प्रवृत्ति हाबी छ, बीमा कम्पनीहरुको पुँजी बढेकाले पनि त्यति चार्म नदेखिएको हो’ उनले भने, ‘जसरी आर्थिक मन्दीको दबाद बैंकमा परेको थियो त्यसरी नै बीमा कम्पनीहरुमा पनि परेको छ । बीमा कम्पनीहरुको जसरी पूँजी बृद्धि भइरहेको छ त्यहि रेसियोमा विजनेश ग्रोथ हुन सक्नु पनि यसको मुख्य कारण हो ।’
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको पूँजी बृद्धिमा मात्रै दबाब दिइएको तर त्यहि अनुसार बीमकहरुले व्यवसाय बढाउन सक्दा यो सेक्टरमा चार्म नदेखिएको थापाको भनाई छ ।
‘इन्स्योरेन्स कम्पनीहरुले अहिले आफ्नो विजनेशमा केही प्रतिशत भएपनि ग्रोथ देखाएका छन्, तर जुन हिसाबले पहिले नै इन्स्योरेन्स सेक्टरलाई ओभरहाइट पुर्याइएको थियो त्यो चाहिने भन्दा बढी नै पुर्याइएको हो’ उनले भने, ‘त्यहिअनुसार नै अहिले इन्स्योरेन्स कम्पनीहरुको रिटेन्ड अर्निङअनुुसार डिभिडेन्ड क्यापासिटी ८–१० प्रतिशत मात्रै निस्किन्छ, इन्स्योरेन्सहरुको लाभांश क्षमताबमोजिम सेयरभाउ यसअघि ८–९ सय माथि नै पुगिसकेकाले अहिले सेयरभाउ ह्वात्तै घट्नु र चार्म नदेखिनु मुख्य कारण हो ।’
तर दीर्घकालिन लगानीका लागि भने बीमा कम्पनीहरु उत्तम हुन सक्ने थापाको भनाई छ । ‘जसरी अहिले बजारमा हाइड्रो सेक्टर र अन्य सेक्टरबाट आइपीओ निष्कासन गरी कम्पनीहरु थपिइरहेका छन्, त्यसरी अब इन्स्योरेन्स सेक्टरमा दुईचारवटा माइक्रो इन्स्योरेन्स बाहेक थपिदैनन्’ उनले भने, ‘सूचीकृत कम्पनीको संख्या नथपिँदा इन्स्योरेन्स सेक्टरलाई त्यो फाइदा हुन सक्छ, सो कम्पनीहरुको विजनेश विस्तार हुँदा ओभरल इन्स्योरेन्सको विजनेश बढ्न जान्छ र दीर्घकालिन लगानीका लागि भने उचित हुन सक्छ ।’
साथै, अर्का बजार जानकार विरेन्द्र विष्ट पनि बीमा कम्पनीहरुको चुक्तापुँजी व्यवसाय अनुसार बढी हुँदा त्यसको चार्म सेयरबजारमा घट्दै गएको बताउँछन् ।
‘इन्स्योरेन्स कम्पनीहरु आफैंमा हाई क्यापिटलाइज भए, जति यी कम्पनीहरुले विजेशन भित्र्याउन सक्छन् त्यसको दाँजोमा ती कम्पनीहरुको क्यापिटल हाई भयो’ उनले भने, ‘क्यापिटल बढाउनलाई जसरी बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गरिरहेका छन् त्यो त्यति आवश्यक पनि छैन । मुख्यगरी कम्पनीको पुँजीअनुसारको व्यवसाय पनि ग्रोथ हुन आवश्यक छ ।’
‘अहिले बीमा कम्पनीका सेयरभाउ ५२ हप्ताकै लो नजिक पुगिरहेका छन् अब बजार बढ्दा केही हदसम्म त बढ्ला तर पहिला जसरी यी कम्पनीहरुको सेयरभाउ उच्च थियो त्यहि आधारमा माथि जान मुस्किल नै छ’ उनले भने, ‘अहिले बजारमा हाई क्याप कम्पनीहरु चल्न सकिरहेका छैनन्, बैंक र बीमा कम्पनीहरु ओभर क्यापिटलाइज भएका कारण नै बजारमा त्यति चल्न नसकेका हुन् ।’