काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको हो ।
यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ३० गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।
माउन्टेन इनर्जीले गत आर्थिक वर्ष २०७९/८० का लागि १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले आगामी चैत १३ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ ।
त्यस्तै नेशनल लघुवित्तले पनि गत आवका लागि ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका सहित) गरी कुल १५प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले आगामी चैत १६ गते आयोजना गर्ने वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिनेछ ।