काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले भारतको सेयर बजारको हालसम्मकै ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । एक रिपार्टका अनुसार रिलायन्सले आफ्नो टेलिकम कम्पनी जियो इन्फोकमको आईपीओ ल्याउने तयारी गरेको हो ।
ब्लूमबर्गको एक रिपार्टका अनुसार रिलायन्सले कम्पनीको ५ प्रतिशत स्वामित्व बिक्री गर्न चाहेको छ । यसमार्फत कम्पनीले ६ अर्ब डलर अर्थात ५२ हजार २ सय करोड भारु जुटाउने छ । यो आईपीओ आयो भने यो भारतीय सेयर बजारको हालसम्मकै ठूलो हुनेछ ।
हालसम्म भारतको सबैभन्दा ठूलो आईपीओको रेकर्ड हुन्डाई इन्डियाको नाममा रहेको छ । कम्पनीले गत वर्ष २८ हजार करोड भारुबराबरको आईपीओ जारी गरेको थियो ।
रिलायन्स इन्डस्ट्रिजले आईपीओ ल्याउने विषयमा बजार नियामक सेबीसँग छलफल गरिरहेको छ । नियमानुसार कम्पनीले कम्तिमा २५ प्रतिशत सेयर आम सर्वसाधारणलाई जारी गर्नेछ । तर कम्पनीले बजारले यति ठूलो परिमाणको सेयर खरिद गर्ने मानिसहरु नभएको जनाएको छ । यो आईपीओबाट मेटा प्लेटफर्म(फेसबुक) र अल्टाबेट इंक(गूगल) जस्ता ठूला कम्पनीहरुलाई फाइदा हुने जनाइएको छ । यी कम्पनीहरुले सन् २०२० मा रिलायन्सको डिजिटल कारोबारमा २० अर्ब डलरभन्दा बढी लगानी गरेका थिए ।
त्यसबेला जियो प्लेटफर्मको मूल्य ५८ बिलियन डलर थियो । जियो प्लेटफर्ममा रिलायन्सको डिजिटल र टेलिकम समेत समावेश छ ।
केही समयअघि भने रोयटर्सले रिलायन्सले यो वर्ष जियोको आईपीओ नल्याउने जनाएको थियो । जियोको मूल्य १०० बिलियन डलरभन्दा बढी छ । कम्पनीले आईपीओ ल्याउनु अघि आफ्नो कमाई र ग्राहक बढाउन चाहेको रिपोर्टमा जनाइएको छ ।