काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५ हजार किलोग्राम फोहोर संकलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीचराउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर संकलनसम्बन्धी प्रतिवेदन यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल, राउन्ड टेबल नेपालका पदाधिकारीहरु, प्रोजेक्ट केयरको प्राविधिक साझेदारको रुपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधिहरु, फोहोर व्यवस्थापन, रिसाइकलिङ, र वातावरणीय संरक्षणमा योगदान पुर्याउदै आएको संस्था खालिसीसीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।
राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गरिएको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको कुरा बताए । साथै उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।