काठमाण्डौ । जेन–जीहरुको आन्दोलनका कारण नेपालको बीमा क्षेत्रमा ठूलो धक्का पर्ने देखिएको छ । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण कैंयौं निजी सम्पत्तिमाथि अतिक्रमण भई अर्बौ रकमको क्षति हुन पुगेको छ ।
काठमाण्डौं लगायत बाहिरका भाटभटेनी, हिल्टन होटल, एनसेलको केन्द्रीय कार्यालय, ग्लोबल कलेज, थापाथलीस्थित सेन्ट्रल विजनेश पार्क र हुण्डाई, सुजुकी र टाटा मोटर्स लगायत थुप्रै गाडी कम्पनीका सोरुमहरुमा आगलागी भएको छ । यसबाहेक निजी घर र कर्पोरेट सेक्टरका थुप्रै बिल्डिङहरुमा पनि क्षति पुगेको छ ।
यसरी निजी सम्पत्तिमाथिको अतिक्रमणले निर्जीवन बीमा कम्पनीहरुमा अब ठूलो रकमको दाबी पर्ने देखिएको छ । अहिलेसम्म देखिएको क्षतिको अनुमान गर्दा नेपालका निर्जीवन बीमा कम्पनीहरुले थेग्नै नसक्ने दाबी पर्ने देखिएको छ ।
जेनजीहरुको आन्दोलनले फरक रुप लिएपछि सरकारी सम्पत्ति र व्यक्तिगत सम्पत्तिमा अर्बौको नोक्सानी भएको आँकलन गर्न सकिन्छ । तर हालसम्म भएको क्षतिमा कति नोक्सानी भएको छ, र कति सम्पत्तिको बीमाको दाबी पर्न सक्छ त्यो अनुमान गर्न कठिन छ ।
तर वर्षौबाट सरकारी सम्पत्तिको पनि बीमा हुनुपर्छ भन्ने कुरालाई वेवास्ता गरिएको कारण सरकारले ठूलो नोक्सानी ब्यहोरेको छ । हालसम्म कुनै पनि सरकारी सम्पत्तिको बीमा गरिएको छैन । जसकारण सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, ,राष्ट्रपति कार्यालय, थुप्रै सरकारी निकायहरु र प्रहरी वृत कार्यालयरुमा पुगेको क्षतिको सरकारले नोक्सानी ब्यहोर्नुपरेको छ ।
यसबाहेक पनि निर्जी क्षेत्रमा जेनजीको आन्दोलनबाट ठूलो क्षति पुगेका कारण बीमा कम्पनीहरुमा भने ठूलै रकमको दाबी पर्ने सहजै अनुमान गर्न सकिन्छ ।
स्रोतका अनुसार ठूलो क्षति देखिएको भाटभटेनी, हिल्टन होटल, सेन्ट्रल विनेशन पार्क र एनसेल कम्पनीको बीमा कम्पनीहरुमा ठूलो रकमको बीमा रहेको छ । नक्साल भाटभटेनी र एनसेलको बीमा शिखर इन्स्योरेन्स र हिल्टन होटलको बीमा ओरियन्टल इन्स्योरेन्समा रहेको खुलेको छ ।
नेपाल बीमा प्राधिकरण स्रोतका अनुसार तत्कालै यतिउतिको दाबी पर्न सक्ने अनुमान गर्न नसकिने तर यसअघि बाढीको वितण्डा र तिनकुनेमा भएको आन्दोलनमा परेको दाबी भन्दा बढी बीमा दाबी पर्ने देखिएको छ ।
यस्तो अवस्थामा बीमा कम्पनीहरुले पुनर्बीमामार्फत जोखिम व्यवस्थापन गर्नुपर्ने चूनौती रहेको छ । किनभने नेपालको बीमा बजारले यति ठूलो रकमको दाबी थेग्न सक्ने क्षमता कम छ ।
केही बीमा कम्पनीका सिईओहरुले २०७२ सालको भूकम्पमा भन्दा जेनजीहरुको आन्दोलनबाट भएको क्षतिले बढी दाबी पर्न सक्ने अनुमान लगाइरहेका छन् ।
मंगलबारको घटनालाई जोडेर हेर्दा बीमा कम्पनीहरुले ‘हुलदंगा आतंकवाद’ शीर्षकमा दाबी गर्नुपर्ने हुन्छ । यो शीर्षकमा नेपालका बीमकहरुले सुरक्षित बीमा ठान्दै असाध्यै कम प्रिमियम लिने गरेका थिए ।
कम प्रिमियममा बीमा कम्पनीहरुले अब ठूलो रकमको क्षतिको बीमा दाबी दिनुपरेमा निर्जीवन बीमा कम्पनीहरुमा नराम्रो धक्का पर्ने स्पष्ट देखिन्छ । यसअघि पनि बाढी पहिरो र तिनकुनेमा भएको क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरुमा ठूलो दाबी परेको थियो । जसकारण बीमा कम्पनीहरुले दाबीको भुक्तानी दिंदा कम्पनीहरु नाफामा संकुचन देखिएको थियो ।
निर्जीवन बीमकहरुको ‘हुलदंगा आतंकवाद’को अर्को जोखिमचाहीँ पुनर्बीमामा छ । ‘हुलदंगा आतंकवाद’को पुनर्बीमा गर्ने अधिकार सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीलाई मात्र छ । यसकारण नेपाल रि इन्स्योरेन्सले पनि अहिलेको दाबी भुक्तानी गर्न सक्छ वा सक्दैन भन्ने जिज्ञासा बढेको छ ।