काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक जेनचेतनामूलक सन्देश जारी गर्दै क्रेडिट कार्ड प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गरेको हो ।
क्रेडिट कार्ड अनुमतिपत्रप्राप्त ‘क’ तथा राष्ट्रियस्तरका ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानी उपकरण हो । यसको प्रयोग गरी वस्तु तथा सेवाबापतको रकम भुक्तानी गर्न र तोकिएको सीमासम्म नगद निकाल्न समेत सकिन्छ ।
सही रूपमा प्रयोग गर्न सकेमा यो सुविधाजनक र सुरक्षित भुक्तानीको उपकरण हो । तर, लापरबाही गर्दा यसले उच्च ब्याज र आर्थिक बोझसमेत निम्त्याउन सक्छ । क्रेडिट कार्डको बिल तोकिएको समयभित्र तिर्दा ब्याज र अतिरिक्त शुल्क लाग्दैन । तर, तोकिएको समयभित्र नतिरेमा उच्च दरमा ब्याज र हर्जाना लाग्न सक्छ । क्रेडिट कार्डको प्रयोग गर्नुअघि निम्न कुरा जान्न आवश्यक छ ः
१. क्रेडिट सीमा,
२. शुल्क तथा ब्याजदर,
३. बिल तयार हुने मिति र भुक्तानी गर्नुपर्ने समयसीमा,
४. समयमा भुक्तानी नगरेमा लाग्ने अतिरिक्त शुल्क र ब्याज ।

