काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नु केही घण्टाअघि उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेको छ । ट्रम्प दक्षिण कोरियाको यात्रामा छन् । उनले त्यहाँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन बैठकमा भाग लिनेछन् ।
उत्तर कोरियाले सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । यो परीक्षणलाई उत्तर कोरियाको आणविक हतियारलाई वैधता दिने एउटा सानो प्रतीकात्मक प्रयास मानिएको बीबीसीले जनाएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार ती क्षेप्यास्त्रहरू सिधा माथितिर प्रहार गरिएका थिए र करिब ७ हजार ८ सय सेकेन्डसम्म हावामा रहन्छन्। ट्रम्पले आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट गर्ने कुनै सङ्केत छैन ।
ट्रम्पले आज दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग भेट गर्नेछन् । अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रुप दिन दक्षिण कोरियामाथि दबाब छ ।

