काठमाण्डौ । लघुबीमा कम्पनीहरुको व्यवसाय २६.६९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमाससम्ममा ५१ करोड ५६ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका छन् ।
यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा २६ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म जीवन तथा निर्जीवन लघुबीमकहरुले ४० करोड ६९ लाख रुपैयाँ प्रियिमम भित्र्याएका थिए ।
सबै लघुबीमकहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । लघुबीमा कम्पनीहरुले पछिल्लो समय आफ्नो शाखा सञ्जाल र कर्मचारी संख्या बढाएर व्यवसाय पनि उल्लेख्य बृद्धि गर्न सफल भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लघुबीमा कम्पनीहरुले ग्रामिण क्षेत्र तथा स्थानीय निकायहरुसँगको सहकार्यमा लघुबीमा सेवा उपलब्ध गराउँदै आइरहेका छन् ।
सो अवधिसम्म जीवन लघु बीमकहरुले मात्रै २४ करोड ७४ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जसमा सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफले ८ करोड ९२ लाख, दोस्रोमा क्रेष्ट माइक्रो लाइफले ८ करोड ६२ लाख र लिबर्टी माइक्रो लाइफले ७ करोड १९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
त्यस्तै, निर्जीवन लघुबीमा कम्पनीहरुले पहिलो त्रैमाससम्म २६ करोड ८१ लाख रुपैयाँ प्रिमिमय संकलन गरेका छन् । सर्वाधिक नेपाल माइक्रो इन्स्योरेन्सले ७ करोड ३ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ करोड ९९ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ५ करोड ८२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ६ करोड ९५ लाख रुपैयाँ प्रिमिमय संकलन गरेका छन् ।
हाल नेप्सेमा तीन लघुबीमा कम्पनी मात्रै सूचीकृत छन् । गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो बजारमा सूचीकृत कम्पनी हुन् ।
त्यस्तै, प्रोटेक्टिभ माइक्रो, लिबर्टी माइक्रो लाइफ र स्टार माइक्रो इन्स्योरेन्सले भने आइपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।


