काठमाण्डौ । नोभेम्बरमा अमेरिकाको बेरोजगारी दर चार वर्षयताकै उच्च ४.६ प्रतिशत पुगेको छ। अमेरिकी श्रम विभागअन्तर्गतको ब्यूरो अफ लेबर स्टाटिस्टिक्सका अनुसार नोभेम्बर महिनामा अर्थतन्त्रमा ६४ हजार रोजगारी थपिएकोृ छ ।
सट डाउनका कारण अक्टोबर–नोभेम्बरको रोजगारी तथ्यांक संकलन प्रभावित भएको ब्यूरो अफ लेबर स्टाटिस्टिक्सले जनाएको छ। करिब ८० वर्षपछि पहिलो पटक अक्टोबर महिनाको बेरोजगारी दर सार्वजनिक हुन सकेन। संघीय सरकारमा गरिएको कटौतीका कारण अक्टोबरमा मात्र १ लाख ६२ हजार रोजगारी घटेको देखिएको छ।
हालको तथ्यांकले अमेरिकी श्रम बजार सुस्त बन्दै गएको संकेत गरेको छ। पछिल्ला ६ महिनामध्ये ३ महिनामा रोजगारी घटेको छ। अधिकांश रोजगारी वृद्धि स्वास्थ्य तथा सामाजिक सेवाक्षेत्रमा सीमित छ, जबकि उत्पादन, यातायात तथा आतिथ्य क्षेत्रले रोजगारी गुमाएका छन्।
यसैबीच, वार्षिक तलब वृद्धिदर घटेर ३.५ प्रतिशतमा झरेको छ भने अश्वेत कामदारको बेरोजगारी दर ८.३ प्रतिशत पुगेको छ। अर्थशास्त्रीहरूले यस अवस्थालाई ‘रोजगारी मन्दी’ को संकेतका रूपमा व्याख्या गरेका छन्।

