काठमाण्डौ । अमेरिकाका वित्तमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले २५ प्रतिशत ट्यारिफ लगाएपछि भारतले रूसबाट कच्चा तेल खरिद उल्लेखनीय रूपमा घटाएको दाबी गरेका छन्।
स्विट्जरल्याण्डको दावोसमा आयोजित वर्ल्ड इकोनॉमिक फोरमको बैठकमा बोल्दै वित्तमन्त्री बेसेन्टले भारतले रूसी तेल आयातलाई ‘लगभग रोक्ने तहसम्म घटाएको’ बताएका हुन्।
भारतले विगत केही वर्षदेखि रूसबाट ठूलो मात्रामा कच्चा तेल आयात गर्दै आएको थियो। तर पछिल्ला तथ्यांकअनुसार डिसेम्बर र जनवरी महिनामा रूसबाट भारतमा हुने तेल आयातमा तीव्र गिरावट देखिएको छ। अमेरिकी पक्षले यसलाई ट्रम्प प्रशासनद्वारा लगाइएको ट्यारिफको प्रत्यक्ष प्रभावका रूपमा व्याख्या गरेको छ।
यद्यपि भारतले यस विषयमा औपचारिक रूपमा कुनै पुष्टि गरेको छैन। यसअघि भारत सरकारले करिब १४० करोड जनसंख्याको ऊर्जा आवश्यकता पूरा गर्न किफायती दरमा कच्चा तेल खरिद गर्नु आवश्यक रहेको भन्दै आफ्नो ऊर्जा नीति स्पष्ट गर्दै आएको छ ।

