काठमाण्डौ। आर्क्स फुड र नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले नेपालका उत्कृष्ट टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन सहयोग गर्ने उद्देश्यले साझेदारी गरेका छन् । विश्व वरीयतामा ५२७ औं स्थानमा रहेका महर्जनलाई विश्वस्तरीय प्रतिस्पर्धामा पुग्न आवश्यक सहयोग उपलब्ध गराउँदै नेपालको खेल प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने यो पहल सुरु गरिएको हो ।
यस साझेदारीअन्तर्गत आर्क्स फुडले खेलाडी महर्जनको तालिम, यात्रा तथा प्रतियोगिता सहभागितामा आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ । कम्पनीका प्रतिनिधिहरुले खेल क्षेत्रको विकास र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको बताए ।
राष्ट्रिय क्रिकेट टिमका अनुभवी खेलाडी सोमपाल कामीले खेलाडीहरुको करियर निर्माणमा यस्ता सहकार्य अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै भने, ‘नेपालमा प्रतिभा धेरै छन्, तर अवसर र सहयोगको अभावले धेरै खेलाडी अघि बढ्न सकिरहेका छैनन् । रुबिनजस्ता खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्न सहयोग गर्नु हाम्रो कर्तव्य हो ।’
खेलाडी रुबिन महर्जनले यो सहयोगप्रति आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उज्यालो बनाउने प्रतिबद्धता जनाए । ‘यो समर्थनले मेरो आत्मविश्वास बढाएको छ। म देशको प्रतिनिधित्व गर्दै अझ राम्रो नतिजा ल्याउने प्रयास गर्नेछु,’ उनले भने।
आर्क्स फुडले खेलकुद क्षेत्रमा दीर्घकालीन योगदान दिने योजनासहित युवा खेलाडीहरुलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार यो सहकार्य केवल एक खेलाडीको समर्थन मात्र नभई, नेपाली खेलकुदको समग्र विकासतर्फको महत्वपूर्ण कदम हो।
यस पहलले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर विस्तार गर्ने विश्वास गरिएको छ, जसबाट भविष्यमा नेपालका अन्य खेलाडीहरुलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

