काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक÷स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन आग्रह गरेको छ । बोर्डले आज एक सार्वजनिक अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो ।
सामाजिक ऐक्यबद्धता सिद्धान्त अनुरुप सञ्चालन गरिएको स्वास्थ्य बीमा मार्फत वित्तीय व्यवस्थापन गरी आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बोर्डले अधिकतम प्रयास गरिरहेको बताउँदै बोर्डले समस्त सेवाग्राहीहरुलाई स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्न बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक÷स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन आग्रह गरेको छ ।
साथै, सेवा प्रदायकहरुले पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार प्रचलित कानून तथा बोर्डले निर्माण गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रको कार्यान्वयन गरी स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न बोर्डले आग्रह गरेको छ ।
हाल स्वास्थ्य बीमा सेवा लिनु पर्दा असहजता देखिएका वा अस्थायी रूपमा सेवा अवरुद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पुनः सञ्चालनमा ल्याउन बोर्डले निरन्तर पहल तथा छलफल गरिरहेको जानकारी दिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सशक्त, थप व्यवस्थित, प्रभावकारी एवम् नागरिक मैत्री बनाउन बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
सीमित स्रोतसाधन तथा केही संरचनागत चुनौतीका बाबजुद पनि कार्यक्रम मार्फत दैनिक करिब ५० हजार नागरिकहरूले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बोर्डले जनाएको छ । जसका कारण दैनिक औसत ८ करोड रुपैयाँ बराबरको आम नागरिकको गोजीबाट हुने खर्च जोगिँदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको बोर्डको भनाई छ ।

