काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानले अमेरिकाको टेक्सास, ओहायो र जर्जियामा तेल, ग्यास र अत्यावश्यक खनिज परियोजनाहरूमा ३६ अर्ब डलर लगानी गर्ने प्रतिबद्धतालाई स्वागत गरेका छन्।
यो जापानद्वारा गरिएको पहिलो चरणको लगानी प्रतिवद्धता हो । जुन दुई देशबीचको ऐतिहासिक व्यापार सम्झौतापछि आएको हो। सम्झौतामा, टोकियोले अमेरिकामा आधारित परियोजनाहरूमा ५५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो भने ट्रम्पले अधिकांश जापानी आयातमाथि लगाइएका शुल्क (ट्यारिफ) १५ प्रतिशतमा झारेका थिए ।
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले यी परियोजनाहरू जापान–अमेरिका सम्बन्ध सुदृढ बनाउने र जापानी कम्पनीहरूको बिक्री र व्यापार विस्तारमा सहयोग पुग्ने बताएकी छन्। उनले भनिन् ‘यी पहलहरूले आपसी लाभ, आर्थिक सुरक्षा वृद्धि, र आर्थिक विकास प्रवर्द्धन गर्ने उद्देश्यलाई वास्तविक रूपमा आत्मसात गरेको छ।’
सबैभन्दा ठूलो परियोजना ओहायोमा बनिरहेको प्राकृतिक ग्यास सुविधा हो, जसले ९.२ गिगावाट शक्ति उत्पादन गर्ने अपेक्षा गरिएको छ।
व्हाइट हाउसका अनुसार जापानले टेक्सासको तटमा २.१ अर्ब डलर मूल्यको गहिरो पानीको कच्चा तेल निर्यात सुविधालाई पनि लगानी गर्नेछ। तेस्रो प्रमुख परियोजना जर्जियामा बनाइने सिन्थेटिक डाइमन्ड ग्रिट उत्पादन केन्द्र हो, जसमा जापानले करिब ६०० मिलियन डलर लगानी गर्नेछ। यो परियोजना एलेमेन्ट सिक्स, डी बीअर्स समूह अन्तर्गत सञ्चालित हुनेछ।

