काठमाण्डौ । भारतका पाँच ठूला अटोमोबाइल कम्पनीहरूले आगामी ५–६ वर्षमा करिब १ लाख करोड भारु लगानी गर्दै उत्पादन क्षमता ६५ प्रतिशतसम्म विस्तार गर्ने घोषणा गरेका छन्। यस विस्तारपछि वार्षिक सवारी उत्पादन ५५ लाखबाट बढेर ९० लाख युनिटसम्म पुग्ने अपेक्षा गरिएको छ। बढ्दो मागलाई मध्यनजर गर्दै आपूर्ति सुदृढ पार्ने, नयाँ मोडेल सार्वजनिक गर्ने र लोकप्रिय मोडेलको लामो प्रतीक्षा अवधि घटाउने लक्ष्य राखिएको छ।
यस विस्तार योजनामा मारुती सुजुकी इण्डिया, टोयोटा किररलोस्कार मोटर, महिन्द्रा एण्ड महिन्द्रा, टाटा मोटर्स र जेएसडब्ल्यू एमजी मोटर इण्डिया सहभागी छन्। यी कम्पनीहरूले नयाँ कारखाना स्थापना, प्रविधि विस्तार र नयाँ मोडेल विकासमा ठूलो लगानी गर्ने योजना बनाएका छन्। विशेषगरी एसयूभी, इलेक्ट्रिक तथा हाइब्रिड प्रविधिमा केन्द्रित रणनीति अपनाइने जनाइएको छ।
हाल वार्षिक २६ लाख सवारी उत्पादन क्षमता रहेको मारुति सुजुकीले २०२७–२०३० बीच थप १५ लाख युनिट क्षमता विस्तार गर्नेछ। गुजरातको गान्धीनगरमा वार्षिक १० लाख सवारी उत्पादन गर्ने नयाँ प्लान्ट स्थापना गरिनेछ। कम्पनीले बढ्दो प्रतिस्पर्धाबीच आफ्नो बजार हिस्सा जोगाउन आक्रामक रणनीति लिएको छ।
टोयोटा किर्लोस्कर मोटरले वार्षिक उत्पादन क्षमता १० लाख युनिटसम्म पुर्याउने लक्ष्य राखेको छ। कर्नाटकको बिदादी प्लान्ट विस्तारसँगै महाराष्ट्रको छत्रपति संभाजीनगरमा नयाँ कारखाना स्थापना गरिनेछ। यसले लोकप्रिय मोडेलहरूको प्रतीक्षा अवधि घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
यस्तै हाल ७.७४ लाख वार्षिक उत्पादन क्षमता रहेको महिन्द्रा एन्ड महिन्द्रा ले नागपुरमा ५ लाख र चाकणमा २.४ लाख युनिट थप्नेछ। २०३० सम्म उत्पादन क्षमता १५ लाखभन्दा माथि पुर्याउने योजना छ। आगामी कम्प्याक्ट एसयूभी शृङ्खलाका लागि यो विस्तार आवश्यक ठानिएको छ।
टाटा मोटर्सले तमिलनाडुमा ९ हजार करोड भारु लगानी गरी वार्षिक २.५ लाख युनिट उत्पादन गर्ने नयाँ प्लान्ट स्थापना गर्नेछ। हाल ८.५ लाख युनिट उत्पादन क्षमता रहेको कम्पनीले विशेषगरी इलेक्ट्रिक र एसयूभी मोडेलहरूमा ध्यान केन्द्रित गर्ने जनाइएको छ।
यसैगरी, ४ हजार करोड रुपैयाँ लगानीमार्फत जेएसडब्ल्यू एमजी मोटरले वार्षिक उत्पादन क्षमता बढाएर ३ लाख युनिट पुर्याउने लक्ष्य राखेको छ। कम्पनीले प्लग–इन हाइब्रिड तथा इलेक्ट्रिक सवारी साधनमा नयाँ मोडेल ल्याउने तयारी गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।