काठमाण्डौ । पूँजीबजारको सर्वोच्च नियामक मानिने नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ जिम्मेवारीबाट पछि हटेको आरोप लगाउँदै सेयर लगानीकर्ताहरू आक्रोशित बनेका छन्।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड ले आयोजना गरेको धितोपत्र अभौतिकिकरण कार्य सञ्चालन निर्देशिका, २०८२ सम्बन्धी जानकारी कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएका बोर्ड अध्यक्ष श्रेष्ठ अनुपस्थित भएपछि लगानीकर्ताहरूले नियामकको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्।
सेयर विज्ञ तथा लगानीकर्ता प्रकाश रजौरेले बोर्ड अध्यक्षले लगानीकर्तासँग प्रत्यक्ष संवाद गर्न नसकेको र जिम्मेवारीबाट पन्छिएको आरोप लगाए।
“पूँजीबजारको अभिभावक मानिने धितोपत्र बोर्डले लगानीकर्ताको मनोबल बढाउने काम गर्नुपर्ने हो,” रजौरेले भने, “तर बोर्डका अध्यक्ष नै यति महत्वपूर्ण कार्यक्रममा उपस्थित नहुनु भनेको स्पष्ट रूपमा आफ्नो जिम्मेवारीबाट पछि हट्नु हो।”
उनले बोर्डले लगानीकर्ताको लगानी सुरक्षा सुनिश्चित गर्न नसकेको आरोपसमेत लगाए।
“लगानीकर्ताको हित संरक्षण गर्नुपर्ने सुरक्षण निकायले ठोस काम गर्न सकेको देखिँदैन,” उनले भने, “बोर्डका अध्यक्ष पद र व्यक्तिगत स्वार्थमा सीमित देखिएका छन्, नत्र नियामकले गर्नुपर्ने भूमिका यति कमजोर हुने थिएन।”
सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरेको उक्त कार्यक्रममा पूँजीबजारमा देखिएका संरचनागत विकृति, आईएसआईएन (ISIN) सम्बन्धी समस्या, संस्थापक र सर्वसाधारण सेयरबीचको असमानता जस्ता गम्भीर विषय उठान गरिएको थियो। तर, नियामक निकायका प्रतिनिधि नै अनुपस्थित रहँदा कार्यक्रमको औचित्यमाथि प्रश्न उठेको रजौरेको भनाइ छ।
“आजको कार्यक्रममा उठाइएका विकृतिहरू तत्काल नियामकले समाधान गर्नुपर्ने विषय हुन्,” उनले थपे, “लगानीकर्ताको मनोबल जोगाउन, विश्वास पुनःस्थापना गर्न र पूँजीबजारलाई स्थायित्व दिन नियामक अझ चुस्त, जवाफदेही र सक्रिय हुनुपर्छ।”
लगानीकर्ताहरूले नियामक नेतृत्वको मौनता र निष्क्रियताले बजारमा थप निराशा फैलिएको भन्दै बोर्डको भूमिकाप्रति पुनर्विचार आवश्यक भएको धारणा व्यक्त गरेका छन्।

