काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम मतपरिणाम सार्वजनिक भएपछि अधिकांश उम्मेदवारले आफ्नो जमानत जोगाउन नसकेको देखिएको छ। सो क्षेत्रमा प्रतिस्पर्धा गरेका २९ जना उम्मेदवारमध्ये विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्र आवश्यक मत प्राप्त गर्दै धरौटी जोगाउन सकेका छन्।
निर्वाचन कानुनअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीमा कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। काठमाडौं–१ मा कुल २९ हजार ८२ सदर मत खसेकाले जमानत जोगाउन कम्तीमा २ हजार ९०८ मत ल्याउनुपर्ने थियो।
यस सीमा पार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन्।
त्यस्तै नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गर्दै जमानत सुरक्षित गरेका छन्।
तर नेकपा एमालेका उम्मेदवार मोहनराज रेग्मीले १ हजार ६१८ मत मात्र प्राप्त गरेपछि उनको जमानतसमेत जफत भएको छ। यसैगरी उज्यालो नेपाल पार्टीका मंग लाल श्रेष्ठ (४६६), श्रम संस्कृति पार्टीका समिर लामा तामाङ (४२६) र नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारी (३४५) सहित अन्य धेरै उम्मेदवारले पनि आवश्यक मत कटाउन सकेनन्।
नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र नेकपा माओवादीका उम्मेदवारले समेत सय मत पार गर्न सकेनन्। यस क्षेत्रमा प्रतिस्पर्धा गरेका १४ जना स्वतन्त्र उम्मेदवारहरूको जमानत पनि जफत भएको छ।
कतिपय उम्मेदवारले अत्यन्त न्यून मत प्राप्त गरेका छन् भने नेपाल जनसेवा पार्टीका अर्जुनबहादुर शाहीले शून्य मत पाएका छन्। केही उम्मेदवारले १ वा २ मत मात्र प्राप्त गरेका कारण उनीहरूको जमानत पनि कानुनबमोजिम जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।
उल्लेखनीय कुरा के छ भने, यही काठमाडौं–१ बाट विगतमा मदन भण्डारी र विद्या भण्डारी जस्ता प्रभावशाली नेताहरू विजयी भएका थिए। तर यसपटक भने सोही क्षेत्रमा एमाले उम्मेदवारको जमानतसमेत जफत भएको परिणाम सार्वजनिक भएको छ।

