काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आम निर्वाचन २०८२ को परिणामलाई ‘परिवर्तनको लहर’सँग जोड्दै आफ्नो पक्षमा अपेक्षित परिणाम आउन नसकेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले ‘परिवर्तन’को लहरका सामु आफ्नो पक्षको प्रयास सफल हुन नसकेको उल्लेख गरेका हुन्। उनले आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा गएको पनि बताएका छन्।
पोखरेलका अनुसार जनताले “नयाँबाट केही हुन्छ कि” भन्ने विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएका हुन्। उनले जनविश्वासअनुसार अघि बढ्न प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित निर्वाचित सबै प्रतिनिधिहरूलाई कार्यकाल सफलताको शुभकामना दिएका छन्।
आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताले निकै मेहनत गरेको उल्लेख गर्दै उनले शुभेच्छुक र आफन्तजनले पनि उत्तिकै साथ र सहयोग दिएको बताए। अभियानमा जुटेका सबैप्रति उनले आभार व्यक्त गरेका छन्।
त्यसैगरी आफू उम्मेदवार रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्य निर्वाचित भएकोमा उनले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
पोखरेलले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गर्दै निराश नहुन आग्रह गरेका छन्। उनले “जिन्दगी हो—हारजित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ” भन्ने गीतको भावजस्तै लोकतन्त्रमा हार–जित सामान्य प्रक्रिया भएको भन्दै सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैलाई आग्रह गरेका छन्।

