झापा । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) को जित लगभग निश्चित भएको छ। उनको अग्रताभन्दा कम मत मात्रै गणना गर्न बाँकी रहेकाले विजय सुनिश्चित भएको हो।
पछिल्लो मतपरिणाम अनुसार शाहले ४७ हजार ७७९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ हजार ६९९ मत पाएका छन्। यससँगै शाहले ३५ हजार ८० मतको फराकिलो अग्रता कायम गरेका छन्।
यस क्षेत्रमा अब ३० हजार ९९५ मत मात्रै गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अग्रता र बाँकी मतको अवस्थालाई हेर्दा शाहको जित लगभग पक्का भएको देखिएको हो।
झापा–५ मा कुल १ लाख ६ हजार ३७२ मत खसेकोमा हालसम्म ७५ हजार ३७७ मत गणना भइसकेको छ। हालसम्मको नतिजा अनुसार शाहले निकटतम प्रतिस्पर्धीभन्दा चार गुणाभन्दा बढी मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन्।
शाह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार पनि हुन्।

