काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेपछि हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ।
मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौंको सुविधानगरबाट नियन्त्रणमा लिएको थियो। पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा किशोरहरूको ज्यान जाने घटनाबारे सोधपुछ गरेका थिए।
प्रहरी स्रोतका अनुसार सहसचिवसमेत रहेका रिजाललाई आवश्यक पर्दा उपस्थित हुने शर्तमा हाजिरी जमानीमा रिहा गरिएको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बल प्रयोग गरी दमन गरेको तथा बानेश्वरमा गोली चलाउन आदेश दिएको आरोपमा रिजालको व्यापक आलोचना हुँदै आएको छ। यसै सन्दर्भमा गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।
तर, आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले घातक हतियार प्रयोग गरेर गोली चलाउन आदेश नदिएको दाबी गरेका छन्।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि सो घटनासँग सम्बन्धित विषयमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई यसअघि नै पक्राउ गरिसकिएको छ।

