काठमाण्डौ । एशियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले ‘एशियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरेको एडीबीले सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । एडीबीले गरेको प्रक्षेपण अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर दक्षिण एशियाली देशहरुमध्ये भारत, बङ्गलादेश, मालदिभ्स र भुटानपछिको सबैभन्दा धेरै हुनेछ ।
एडीबीका अनुसार यो वर्ष दक्षिण एशियाली देशहरुमा भारतको आर्थिक वृद्धिदर सबैभन्दा धेरै रहने छ । यो वर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । सबैभन्दा धेरै आर्थिक वृद्धिदर हुने देशको सूचीमा बंगलादेश दोस्रो स्थानमा छ । सन् २०२४ मा बंगलादेशको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने एडीबीले जनाएको छ ।
यस्तै माल्दिभ्सको ५.४,भुटानको ४.१ र पाकिस्तान र श्रीलंकाको समान १.९ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरिएको छ ।