मंगलवार, चैत्र २६,२०८१ 10:24:25
IME remit
  • मंगलवार, चैत्र २६,२०८१ 10:24:25
IME remit
Global IME Bank Limited

मर्जरपश्चात युनाइटेड अजोड इन्स्योरेन्समा कर्मचारी व्यवस्थापन गर्न सकस, धमाधम राजिनामा दिदैं

Hyundai Nepal
मर्जरपश्चात युनाइटेड अजोड इन्स्योरेन्समा कर्मचारी व्यवस्थापन गर्न सकस, धमाधम राजिनामा दिदैं
Nabil Bank Limited

काठमाण्डौ । बीमा क्षेत्रमा मर्जरपछि कम्पनीहरुमा कर्मचारी समायोजन, उच्च व्यवस्थापनको सेवा सुविधा, जिम्मेवारी तथा उच्च पदस्थ अधिकारीहरुले कर्मचारीलाई गर्ने व्यवहार लगायतका समस्या अझै सुल्झिएको छैन ।  

बीमा कम्पनीहरुमा विशेषत मर्जरमा सामेल भएका कम्पनीहरुमा धेरै खालका समस्याहरु सिर्जना भएको थियो र यो समस्या अहिले पनि यथावत नै रहेको छ । नेपाल बीमा प्राधिकरणले यस्ता समस्याले आर्थिक जोखिमाङ्कन फितलो हुनेसम्मको समस्याहरु आउन सक्ने भन्दै बीमा कम्पनीका संचालक तथा सीईओहरुलाई बोलाएर छलफल समेत गरेको थियो ।  

प्राधिकरण स्रोतका अनुसार अधिकांश मर्जरमा गएका कम्पनीहरुमा एकीकृत कारोबारपश्चात् पनि कर्मचारी मिलान र उच्च व्यवस्थापकले कर्मचारीलाई समान व्यवहार नगर्नु अझैपनि मुख्य समस्याका रुपमा कायम छ ।  

प्रमुख कार्यकारी अधिकृत साविक जुन कम्पनीको छ, त्यसै कम्पनीबाट आएका कर्मचारीलाई गर्ने व्यवहार र साविकको अर्को कम्पनीबाट आएको कर्मचारीलाई गर्ने व्यवहार फरक–फरक हुने भएकाले कर्मचारीको मनोबलमा असर पुग्ने गरेको यसअघि राजिनामा दिइसकेका कर्मचारीहरुले बताउँदै आएका छन् ।  

गत जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको युनाइटेड अजोड इन्स्योरेन्समा पनि यस्तै समस्या देखिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले कर्मचारीलाई समान व्यवहार नगर्दा हालसम्म सय भन्दा बढी कर्मचारीले राजिनामा दिइसकेको कम्पनी स्रोतले जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

हुन त रावल साविकका दुईवटै कम्पनीमध्ये कुनैबाट पनि आएका होइनन् । तर सीईओ रावलको साविक अजोड इन्स्योरेन्सका सीईओ तथा युनाइटेड अजोडमा डेपुटी सीईओ रहेका कुमार बहादुर खत्रीसँग रिसिवि रहेकाले साविक अजोडबाट आएका कर्मचारीलाई गर्ने व्यवहार रुखो रहेको स्रोतले बतायो ।  

युनाइटेड अजोडको निवर्तमान डेपुटी सीईओ खत्रीले गत फागुन महिनामा राजीनामा दिएका थिए ।  

बीमा क्षेत्रमा लामो समय काम गरेका खत्री निकै अब्बल व्यवस्थापक मानिन्छन् । गत वर्ष साविक अजोड इन्स्योरेन्स युनाइटेडमा मर्ज भएपछि भागबण्डा मिलाउँदा खत्रीको भागमा डेपुटी सीईओ पद परेको थियो । खत्री २०७५ साल जेठ २७ गते अजोड इन्स्योरेन्स कम्पनीको सीईओमा नियुक्त भएका थिए ।  

लामो समयदेखि बीमा क्षेत्रमा अब्बल नेतृत्व गर्दै आएका खत्रीले एक वर्ष नबित्दै युनाइटेड अजोडको डेपुटी सीईओ पदबाट राजिनामा दिनु व्यवस्थापनमै समस्या हुन सक्ने अनुमान गरिएको छ ।  

सीईओ रावलको व्यवहारका कारण ९० प्रतिशतभन्दा बढी कर्मचारीले तनाव झेलिरहेको एक कर्मचारीले बताए । ‘कर्मचारी सबैलाई गर्ने व्यवहार एउटै छैन, जसले सीईको विचारमा हो मा हो मिलाउन सक्यो उसलाई मात्रै राम्रो व्यवहार नत्र जुनसुकै कर्मचारीले पनि आफ्नो विचार चुइक्क राख्न पाउँदैन’ ती कर्मचारीले भने, ‘त्यसैमाथि साविक युनाइटेडबाट आएका कर्मचारीलाई अझै खासै समस्या छैन, तर अजोडबाट आएको कर्मचारीलाई गर्ने व्यवहार झन् रुखो छ, यसैकारणले हालसम्म १५० जना जति कर्मचारीले राजिनामा दिइसके ।’

यस्ता खालका समस्या देखिएपछि नेपाल बीमा प्राधिकरणले मर्जरमा गएका कम्पनीका सीईओ तथा सञ्चालकहरुलाई बोलाएर छलफल समेत गरेको थियो । प्राधिकरणले मर्जरपश्चात् कर्मचारीको पद घटाउन नपाउने र खाइपाई आएको तलब समेत कटौती गर्न नपाउने भनेर मर्जरमा सामेल भएका बीमकलाई निर्देशन समेत दिइसकेको छ ।  

मर्जरमा गएका कम्पनीमा समस्याहरु नदेखियोस् भन्ने हेतुले सहजीकरणका लागि निर्देशन दिइसकेको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।  

‘कर्मचारीहरुको गुनासो आउनु स्वभाविक हो, अझै मर्जरपश्चात् साविकका दुईवटा कम्पनीका कर्मचारीलाई नेतृत्व गर्न अझै चूनौती छ, तर सिंगो कम्पनीको नेतृत्व गरेपछि सबै कर्मचारीलाई गर्ने व्यवहार एउटै हुनुपर्छ’ पौडेलले भने, ‘प्राधिकरणले पद घटाउन र खाइपाई आएको तलब घटाउन नपाउने निर्देशन पनि दिइसकेको छ, अब यस्ता खालका गुनासोहरु कम हुने विश्वास छ ।’  

यता कम्पनीका सीईओ श्रवण रावलले भने आफुले सबै कर्मचारीलाई समान व्यवहार गरेको र कुनै पनि कर्मचारीलाई पक्षपात नगरेको  बताए ।

‘म साविक युनाइटेड र अजोड कुनै कम्पनीबाट पनि आएको होइन, मर्जरपछि सबै कर्मचारीलाई मिलाएर राख्नु समस्या नै छ, कर्मचारीले राजिनामा दिनु हाम्रो कम्पनीको मात्रै समस्या होइन’ रावलले भने, ‘अन्य कम्पनीमा यहाँभन्दा राम्रो अफर पाएर कर्मचारीहरुले राजिनामा दिनुभएको हो, तर उच्च व्यवस्थापन टिमको प्रेसरले राजिनामा दिनुभएको होइन ।’

राजिनामा प्रक्रिया सबै कम्पनीमा भइरहने रावलले बताए । ‘राजिनामा दिने र नयाँ कर्मचारी आउने प्रक्रिया सबै कम्पनीमा हुन्छ, हाम्रो कम्पनीमा अन्य कम्पनीबाट पनि कर्मचारी आउनुभएको छ’ उनले भने, ‘तर यसमा सीईओले कर्मचारीलाई समान व्यवहार नगरेको कारण दर्साउन मिल्दैन, कम्पनीको नेतृत्व गरेपछि सबै कर्मचारीको मन रुझाउन गाह्रो पनि छ, मेरो हकमा मैले साविकका दुईवटै कम्पनीका कर्मचारीलाई पक्षपात गरेको छैन ।’

नेपाल बीमा प्राधिकरणले चुक्तापुँजी बृद्धि गर्न दबाद दिएसँगै आर्थिक वर्ष २०७९÷८० मा १२ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनी मर्जरमा गए ।  

मर्जरपश्चात् हाल १४ वटा जीवन बीमा कम्पनी र १४ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । मर्ज भएपछि विभिन्न सूचकमा सिनर्जी देखिने भन्दै मर्जरको विकल्प रोजेका कम्पनीहरुमा नै विभिन्न समस्या देखिन थालेको हो ।  

मर्जरपश्चात् कम्पनीहरुमा सबै कर्मचारीलाई समान व्यवहार नगरेको भन्दै कर्मचारी संगठन मार्फत् प्राधिकरणमा उजुरी समेत परेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.