काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४४.६५ प्रतिशतले कम हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १२ अर्ब ९३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १२ अर्ब १८ करोडको तुलनामा ६.१८ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ९ करोड १३ लाख ,लगानी तथा कर्जा आम्दानी ३ अर्ब ७४ करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ५६ करोड ३१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
यस्तै कम्पनीको अन्य आम्दानी १ करोड १४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी १७ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म भने कम्पनीको कुल आम्दानी १८ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । तेस्रो त्रैमाससम्म कम्पनीले १४ अर्ब ६३ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.२० प्रतिशतले बढी हो ।
यो अवधिमा कम्पनीको कुल खर्च १.४१ प्रतिशतले घटेर १६ अर्ब ९० करोड रुपैयाँमा सीमित बनेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४६ करोड ६६ लाख र रिटेन्ड अर्निङ ९९ करोड ६३ लाख रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.४५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०९०.८२ रुपैयाँ, पीई रेसियो ९४.७१ गुणा कायम भएको छ ।

