काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले चालु आवको तेस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको उक्त नाफा अघिल्लो आवको तुलनामा ४७.१३ प्रतिशतले कम छ । अघिल्लो आवमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेपनि कम्पनीको व्यवसाय भने १४०.९३ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको कुल आम्दानी पनि २ अर्ब ९ करोड रुपैयाँबाट बढेर २ अर्ब ११ करोड पुगेको छ । आम्दानीसँगै कम्पनीको खर्च समेत बढेको छ । अघिल्लो आवमा १ अर्ब ७३ करोड रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर १ अर्ब ९२ करोड पुगेको छ ।
यस्तै दाबी भुक्तानी पनि १ अर्ब १४ करोडबाट बढेर १ अर्ब २६ करोड पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषको आकार २२ करोड ६७ लाख रहेको छ भने रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख सञ्चित छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३३.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८९.६३ गुणा कायम भएको छ ।

