काठमाण्डौ । इरानमा युद्ध व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको खातम अल–अनबिया मुख्यालयले दक्षिणी इरानका केही भागमा अमेरिकी आक्रमण भएको एक घण्टापछि एक विज्ञप्ति जारी गरेको छ।
खात्म अल–अनबिया मुख्यालयले अमेरिकी सेनाको आक्रमणको जवाफमा मध्य–पूर्वमा रहेका केही अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सेनाको आक्रामकताको जवाफस्वरूप यस क्षेत्रमा रहेका केही अमेरिकी ठेगानाहरूलाई इरानको सेना र इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) का बहादुर सैनिकहरूले शक्तिशाली आक्रमणमार्फत लक्षित गरेका छन्।’
यसका अतिरिक्त, आईआरजीसीले पनि एक छुट्टै विज्ञप्ति जारी गर्दै बहरीनस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरिएको दाबी गरेको छ। इरानको तसनीम समाचार एजेन्सीका अनुसार, आईआरजीसीले भनेको छ, ‘रिभोल्युशनरी गार्ड्सको नौसेनाले बिहान २स्३० बजे बहरीनमा रहेको पाँचौँ नौसैनिक बेडामा ड्रोन आक्रमण गरेको छ।’
फार्स समाचार एजेन्सीले जनाएअनुसार, आईआरजीसीले जोर्डनमा रहेको एक अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ।
आईआरजीसीले भनेको छ ‘जोर्डनको अल(अज्राकस्थित अमेरिकी हवाई अड्डामा रहेका एफ–३५ लडाकु विमानहरूको ह्याङ्गर र सेनाको कमान्ड सहित चार महत्वपूर्ण ठेगानालाई लामो दूरीका मिसाइलमार्फत निशाना बनाएको छ।’
आईआरजीसीले आफ्नो अर्को विज्ञप्तिमा उत्तरी फारस खाडीमा एक अमेरिकी ड्रोन खसालिएको दाबी पनि गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीलाई उद्धृत गर्दै उक्त ड्रोनलाई ‘बुशहर प्रान्तको जाम काउन्टीमाथिको आकाशमा निशाना बनाएर नष्ट गरिएको’ बताइएको छ।
यता, अमेरिकी सेन्ट्रल कमान्डले बुधबार बिहान इरानतर्फबाट अमेरिकी हेलिकप्टर खसालिएपछि अमेरिकी सेनाले जवाफी कारबाही गरेको जनाएको छ । जुन अहिले समाप्त भइसकेको छ।
मध्य–पूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य ठेगानामाथि इरानले आक्रमण गरेको दाबीबारे हालसम्म अमेरिकाको आधिकारिक प्रतिक्रिया आएको छैन।

