नमस्कार गभर्नर ज्यू, आज मनमा लागेका केही कुरा लेख्न मन लाग्यो । धेरैले भन्ने गर्छन् ः राष्ट्रबैंकको कसिलो र कुटिल नीतिका कारण झण्डै ३ वर्षदेखि नेपालको पूँजीबजार ओरालो लाग्यो, कोमामा पुग्यो र धेरैको बिचल्ली भयो । तर म भन्छु रास्ट्र बैंकले लिने नीति गलत हुनैसक्दैन । उद्योगी, व्यवसायी र लगानीकर्तासँग नै सुझाव मागेर ल्याइने नीति गलत हुने त कुरै भएन नि !
दुईचारजना उद्योगी, व्यवसायी र लगानीकर्ताहरुले ‘गलत’ भन्दैमा गलत हुने हो र गभर्नर ज्यू ? शिक्षक महासंघले जस्तो लाखौलाख जम्मा भएर आन्दोलन गरेर भनेको भए पो गलत हुन्थ्यो होला त ! दुईचारजना त जहिले पनि कराउँछन्, राष्ट्र बैंकको नीति गलत भयो भनेर ।
ठीक छ गभर्नर ज्यू तपाईले लिनु भएको नीति एकदम ठीक छ, यसका लागि तपाईंजत्तिको विज्ञलाई धन्यवाद नभनिरहन सकिएन ।
तपाईले अवलम्बन गर्नु भएको सही नीतिका कारण हेर्नुहोस् त आज पूँजीबजारको सही सुधार भएको छ नि । लगानीकर्ताबाहेक सेबोन, ब्रोकर र राज्यले मनग्य कमाइरहेका छन् । पूँजीबजार मात्र होईन समग्र अर्थतन्त्रको नै सुधार भइरहेको छ । कयौं ब्यवसायीहरु धेरै पैसा कमाएर धमाधम सटर बन्द गरेर बिदेश घुम्न निस्केका छन् !
जग्गा व्यवसायीहरुले टन्न पैसा कमाएर प्लटिङ गर्न छोडेर त्यही जग्गामा खेती गर्न थालेका छन् । देशका युवाहरुको आर्थिक स्तर पनि त तपाईंकै नीतिका कारण धेरै सुधारिएको छ नि ! त्यसो नहुँदो हो त बर्षेनी लाखौं युवाहरु प्लेनमा आवतजावत गर्न थालेका छन्, त्यस्तो महँगो टिकट काटेर ओहरदोहोर गर्नु भनेको अर्थतन्त्र सुधारिएकै र युवाहरुको आर्थिक स्तर माथि उठेकै मान्नुपर्छ नि होइन र गभर्नर सा’ब ? यसकारण पनि तपाईंलाई मुरी मुरी धन्यवाद ।
राष्ट्रबैंकले सेयरधितो कर्जामा लगाएको १५÷२० करोडको क्याप चाहि राम्रो भएन है गभर्नर ज्यू, यसलाई १५÷२० बाट स्वाट्टै घटाएर १÷२ करोड मात्र गराउनु पर्यो । संसारकै गरीब देशमा १५÷२० करोडसम्म ऋण लिएर लगानी गर्न दियो भने पूँजीबजारका लगानीकर्ताको बानी बिग्रिहाल्छ नि, हैन त गभर्नर सा’ब ?
त्यत्रो जिम्मेवार पदमा बसेर काम गर्ने ठूला कर्मचारीले चाहि ५०÷६० हजार तलब खाने, सेयरमा चाहि ऋण लिएर लगानी गरेकै भरमा करोडौ कमाऊने, यो त अन्याय नै हो नि । तसर्थ क्यापलाई १÷२ करोडमा झारिहाल्न पर्छ ।
यो पूँजीबजार जोखिम क्षेत्र पनि त हो, यसमा जाने ऋणमा १२५% को जोखिम भार साह्रै कम भयो हजूर, यसलाई बढ़ाएर २००% गराउनुपर्यो । हाइड्रो जस्ता भूकम्प, बाढ़ी र पहिरोले असर गर्ने परियोजनालाई चाहि जोखिमभार ०% बनाउन पर्यो, तब न पूँजीबजारको विकास सम्भव हुन्छ !
अर्थमन्त्री ज्यू,
नमस्कार
अर्थमन्त्री ज्यूले ‘पूँजीबजारमा ढुक्क भएर लगानी गर्नुहोस, म पूँजीबजारको बिकास गर्छु’ भन्नु भएको रहेछ । पूँजीबजारको समस्याको समाधान गर्छु भन्दै सम्बन्धित निकायसँग कार्ययोजना पनि माग्नु भएको रहेछ । अहिले डेढ़ महिना बितिसक्दा पनि अर्थमन्त्रीले पूँजीबजारका लागि केही गरेनन्, लगानीकर्ताको कुरै सुनेनन्, लगानीकर्तालाई झूठा आश्वासन दिएर, झुक्याएर बजार घटाइदिए भनेर केही रोईलो गर्दैछन् । यस्ताको कुरा सुनेर आफ्नो समय बर्बाद नगर्नुस् है ।
अँ अँ अर्थमन्त्री ज्यू, केही नगर्नुहोस् है यस्ता गनगने लगानीकर्ताहरुका लागि । यी सधैं कराइरहने त हुन नि । तपाईभन्दा पहिले पनि धेरै अर्थमन्त्री आए, तिनीहरुले चाहिँ के गरेर र तपाईलाई मात्र ख्यास ख्यास । बेकारमा किन टाउको दुखाउनुहुन्छ ? यसै रोगी तपाईलाई यस्ता कुरामा टाउको दुखाउन थाल्नुभयो भने गाह्रो पर्ला, तपाई नै बिरामी भएमा देशको अर्थतन्त्र जसरी चमात्कारिक ढंगले सुधार गरिरहनुभएको छ, त्यो अभियान नै रोकिएला । तपाईको मलाई कम्ता पीर लागेको छैन अर्थमन्त्री ज्यू !
त्यो धितोपत्र बोर्डले बुझाएको १८ बुँदे कार्ययोजनाको फाईल पनि नखोल्नुहोस है, दराजमै थन्काएर राख्नु होला, खोल्यो भने कार्यान्वयन गर्नुपर्ला फेरि । यो अनुत्पादक क्षेत्रको बिकास गरेर के हुन्छ तपाई, तपाईको मन्त्रालय र पार्टीलाई ? त्यसकारण पूँजीबजारको विषयमा जे नीति लिइरहनुभएको छ, एकदम सही छ ।
बरु बिदेश जानुहोस, हाम्रो देशमा लगानी गर्न आउनुहोस् भन्दै निम्ता दिनुहोस् विदेशी लगानीकर्तालाई । उनीहरुले डलरमा लगानी गर्छन्, यहाँकाले त नेरुमा लगानी गर्छन् । डलरको अगाडि नेरुको के भाउ ? के अर्थ ?
यी पूँजीबजारका लगानीकर्ताले केही गर्दैनन् । चुनाबमा भोट पनि दिंदैनन् । चुनावको बेलामा पुरानालाई भोट नदिऊ भन्दै ‘नो भोट अगेन’को अभियान नै चलाउँछन् । बालेन शाह र हरि ढकालजस्तालाई जिताउँछन् ।
त्यसैले यिनीहरूले भनेको मान्नु हुँदैन । बरु युवराज खतिवडाले जस्तो क्यापिटल गेन ट्याक्सलाई ७.५% बाट बढ़ाएर १० प्रतिशत बनाइदिनुस् । बढी कर उठ्छ, राज्य कोषमा पैसा आएपछि कार्यकर्तालाई बाँड्न पनि त सजिलो भयो नि !
सेबोन कमिसन, ब्रोकर कमिसन बढाइहाल्नुपर्यो अर्थमन्त्री ज्यू । यसो गर्दा लगानीकर्ता बजारप्रति डिप्रेश भई बजार छोडेर बिदेश गई पैसा कमाएर नेपाल पठाउने छन् । अनि त्यो पैसाले तिरेको करले देशका नेताहरुको आवश्यकता पनि पूरा हुनेछ । त्यसैले यो पूँजी बजारको बिकास गर्नै हुन्न है मन्त्री ज्यू ।
यो पूँजीबजार भारत, चीन अनि अमेरिकाजस्ता धनी देशका लागि मात्र हो, हाम्रो जस्तो गरीब देशमा चलाउनै हुन्न । अब बरु बन्दै पो गरिदिने हो कि ?
यो पूँजीबजारले धेरैको ज्यान लियो, धेरैको घरबार बिगारिदियो, धेरैलाई डिप्रेशनको शिकार बनायो । त्यसैले यी सबै घटना रोक्नलाई पनि यसको विकास गर्नुहुन्न । बरु बिस्तारै बन्द गरिदिनुपर्छ । त्यसपछि त न रहे बाँस, न बजे बाँसुरी ।
तपाईहरुको भलो चाहने पूँजीबजारको उही एउटा लगानीकर्ता
सुरज खड्का
(सुरज खड्का नेपाल सेयरधनी संघका महासचिव हुन् ।)