आईतवार, श्रावण १०,२०८३ 09:26:47
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 09:26:47
Bizshala
Global IME Bank Limited

'बुक बिल्डिङका नाममा जथाभावी मूल्य तोक्ने दिन सकिए'

पुरानै ढर्राबाट मूल्य निर्धारण गरिएका आईपीओले स्वीकृति नपाउने, योग्य संस्थागत लगानीकर्तामाथि समेत नियमन गरिने

'बुक बिल्डिङका नाममा जथाभावी मूल्य तोक्ने दिन सकिए'
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुक बिल्डिङका नाममा कम्पनीको सेयर मूल्य जथाभावी निर्धारण गर्ने अभ्यास नियन्त्रण गर्ने भएको छ।

सेबोनका अध्यक्ष गोपालप्रसाद भट्टले अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बुक बिल्डिङ विधिलाई बोर्डले प्राथमिकता दिने तर यही विधिको नाममा अपारदर्शी रूपमा मूल्य निर्धारण गर्ने काम स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

बिजशालासँग कुरा गर्दै अध्यक्ष भट्टले बुक बिल्डिङ प्रक्रियामा देखिएका विकृति समाधान गरेर मात्र यस विधिलाई अगाडि बढाइने बताए।

‘बुक बिल्डिङ अन्तर्राष्ट्रिय स्तरमा निकै लोकप्रिय विधि हो। हामीले पनि यसलाई प्राथमिकता दिन्छौँ,’ उनले भने, ‘तर बुक बिल्डिङको नाममा पुरानै ढर्राबाट मूल्य तोक्ने र त्यसकै आधारमा आईपीओ स्वीकृत गर्ने काम अब हुँदैन।’

बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले प्रस्ताव गरेको मूल्यका आधारमा आईपीओको कटअफ मूल्य निर्धारण गरिन्छ। तर मूल्य निर्धारणमा सहभागी संस्था र निष्कासनकर्ता कम्पनीबीच स्वार्थको द्वन्द्व भए वास्तविक मूल्यभन्दा फरक मूल्य कायम हुन सक्ने जोखिम रहन्छ।

यसैलाई ध्यानमा राख्दै बोर्डले मूल्य निर्धारण प्रक्रियामा सहभागी योग्य संस्थागत लगानीकर्तामाथि समेत नियमन गर्ने तयारी गरेको अध्यक्ष भट्टले जानकारी दिए।

योग्य संस्थागत लगानीकर्ता पनि नियमनको घेरामा

अब सेबोनले आईपीओ जारी गर्ने कम्पनीमाथि मात्र नभई मूल्य निर्धारण प्रक्रियामा सहभागी हुने योग्य संस्थागत लगानीकर्ताको भूमिका पनि परीक्षण गर्नेछ।

कुन संस्थाले कस्तो आधारमा मूल्य प्रस्ताव गरेको हो, मूल्य निर्धारणका लागि प्रयोग गरिएको विश्लेषण कति विश्वसनीय छ र सम्बन्धित संस्थाको निष्कासनकर्ता कम्पनीसँग कुनै स्वार्थगत सम्बन्ध छ वा छैन भन्ने विषय हेर्ने गरी स्पष्ट फ्रेमवर्क बनाइने अध्यक्ष भट्टले बताए।

‘मूल्य निर्धारण प्रक्रियामा सहभागी योग्य संस्थागत लगानीकर्तामाथि पनि नियमन हुन्छ,’ उनले भने, ‘स्वार्थको द्वन्द्व हुने गरी कुनै कम्पनीले बुक बिल्डिङबाट जथाभावी मूल्य तोकेर आईपीओ निष्कासन गर्न पाउने छैन।’

बुक बिल्डिङ विधिमा संस्थागत लगानीकर्ताको मूल्य प्रस्तावलाई आधार मानिने भएकाले उनीहरूको निष्पक्षता र विश्लेषण क्षमता महत्त्वपूर्ण हुन्छ। सीमित संस्था वा परस्पर सम्बन्धित पक्षको सहभागिताबाट मूल्य निर्धारण भए त्यसले सर्वसाधारण लगानीकर्तामाथि जोखिम थप्न सक्ने भएकाले बोर्डले नियामकीय दायरा विस्तार गर्न खोजेको हो।

सञ्चय कोष र नागरिक लगानी कोषलाई प्राथमिकता

बुक बिल्डिङ प्रक्रियालाई विश्वसनीय बनाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र स्टक डिलरजस्ता संस्थालाई प्राथमिकताका साथ सहभागी गराउने तयारी भइरहेको अध्यक्ष भट्टले बताए।

ठूला, दीर्घकालीन र संस्थागत लगानीकर्ता सहभागी हुँदा कम्पनीको वित्तीय अवस्था तथा वास्तविक मूल्यको व्यावसायिक विश्लेषण हुन सक्ने बोर्डको बुझाइ छ।

‘कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र स्टक डिलरजस्ता संस्थालाई प्राथमिकताका साथ सहभागी गराएर मूल्य निर्धारण विधिलाई थप पारदर्शी तथा विश्वसनीय बनाउँछौँ,’ अध्यक्ष भट्टले भने।

बोर्डले कुन संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रूपमा मान्यता दिने, उनीहरूले मूल्य प्रस्ताव गर्दा कुन आधार खुलाउनुपर्ने र स्वार्थको द्वन्द्व देखिए कस्तो कारबाही हुने भन्ने विषयसमेत प्रस्तावित फ्रेमवर्कमा समावेश गर्ने तयारी गरेको छ।

कम्पनीले मनलाग्दी प्रिमियम माग्न नपाउने

बुक बिल्डिङ विधिबाट आउने आईपीओमा कम्पनीले आफ्नो मूल्यांकन र संस्थागत लगानीकर्ताको प्रस्तावका आधारमा सर्वसाधारणलाई सेयर बिक्री गर्छ। तर निष्कासनकर्ताको व्यावसायिक अवस्था र मूल्यबीच तालमेल नभए सर्वसाधारण लगानीकर्ता महँगो मूल्यमा सेयर किन्न बाध्य हुन सक्छन्।

यही जोखिम नियन्त्रणका लागि सेबोनले मूल्य निर्धारणको सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउने तयारी गरेको हो। बोर्डले बुक बिल्डिङलाई रोक्ने नभई यसको दुरुपयोग रोक्दै अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने नीति लिएको अध्यक्ष भट्टले बताए।

‘हामी यो विधिलाई पारदर्शी, अन्तर्राष्ट्रिय स्तरको र लगानीकर्तामैत्री बनाउँछौँ,’ उनले भने, ‘त्यसअघि पुरानै शैलीमा मूल्य तोकिएका प्रस्तावलाई बुक बिल्डिङ भन्दै स्वीकृति दिने काम हुँदैन।’

सेबोनको प्रस्तावित सुधार कार्यान्वयन भए बुक बिल्डिङमा मूल्य निर्धारण गर्ने संस्थाको जवाफदेहिता बढ्नेछ। साथै निष्कासनकर्ता कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक र संस्थागत लगानीकर्ताबीच हुन सक्ने स्वार्थगत सम्बन्धमाथि निगरानी राख्ने आधार पनि तयार हुनेछ।

यसले बुक बिल्डिङमार्फत वास्तविक व्यावसायिक क्षमता भएका कम्पनीलाई बजारमा ल्याउन सहयोग पुर्‍याउने तथा कृत्रिम मूल्य निर्धारणका कारण सर्वसाधारण लगानीकर्ताले बेहोर्नुपर्ने जोखिम घटाउने अपेक्षा गर्न सकिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.