काठमाण्डौ । नर्सिङ क्षेत्रमा देखिएको श्रम शोषण, न्यून सेवा–सुविधा र नीतिगत समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै नर्सहरूले सोमबार वीर अस्पतालअगाडि प्रदर्शन गरेका छन्।
त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा कार्यरत नर्सहरूले विभिन्न माग लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै अनसनरत नर्स ज्योति रानाभाटले उठाएका विषय तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका हुन्।
उनीहरूले गुणस्तरीय नर्सिङ शिक्षा सुनिश्चित गर्नुपर्ने, बिरामीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने, नर्सहरूलाई सम्मानजनक पारिश्रमिक तथा सेवा–सुविधा उपलब्ध गराउनुपर्ने र कार्यस्थलमा हुने श्रम शोषण अन्त्य गर्नुपर्ने माग राखेका छन्।
नर्सहरूले आफ्ना समस्या समाधानका लागि पटक–पटक आवाज उठाउँदासमेत सरकार मूकदर्शक बनेको आरोप लगाएका छन्। उनीहरूले तत्कालीन समाधान मात्र नभई नर्सिङ क्षेत्रका समस्या दीर्घकालीन रूपमा सम्बोधन हुने गरी स्पष्ट नीति, कार्ययोजना र कार्यान्वयनको सुनिश्चितता खोजेका छन्।
यसैबीच, नेपाल चिकित्सक सङ्घले पनि अनसनरत रानाभाटको जीवनरक्षा गर्न तथा उनले अघि सारेका जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
सङ्घले सोमबार विज्ञप्ति जारी गर्दै सरकारलाई वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको हो। पाँच दिनदेखि अनसनरत रानाभाटको हाल वीर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रानाभाटका मागका विषयमा वार्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको बताएकी छन्। आन्दोलनरत नर्सहरूले भने मौखिक प्रतिबद्धताभन्दा पनि कार्यान्वयन हुने ठोस सहमति आवश्यक रहेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।