काठमाण्डौ । अमेरिकाले लगाएका नयाँ व्यापार प्रतिबन्धको जवाफ दिँदै चीनले बुधबार अमेरिकाविरुद्ध थप आर्थिक प्रतिकारात्मक कदम घोषणा गरेको छ। चीनले ६ वटा अमेरिकी कम्पनीलाई कालोसूचीमा राख्नुका साथै अमेरिकातर्फ जाने ड्रोन तथा त्यसका महत्वपूर्ण उपकरण र प्रविधिको निर्यात नियन्त्रण कडा बनाउने निर्णय गरेको छ।
अमेरिकाले फोर्स्ड लेबर र राष्ट्रिय सुरक्षा सम्बन्धी विषयलाई आधार बनाउँदै नयाँ व्यापार प्रतिबन्ध लगाएपछि चीनले यस्तो कदम चालेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिअन्तर्गत चीनसहित ५० भन्दा बढी देशमाथि नयाँ भन्सार शुल्क लागू गर्ने निर्णयपछि बेइजिङले प्रतिकार गरेको हो। ट्रम्पले ती कदमहरू अमेरिकासँग रहेको व्यापार घाटा अन्यायपूर्ण भएको भन्दै सुधार गर्न आवश्यक रहेको बताएका थिए।
चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले अमेरिकाको कदमले चीनको वैध अधिकार र हितमा गम्भीर असर पारेको बताएका छन्। उनले आवश्यक प्रतिकारात्मक उपायअन्तर्गत अमेरिकातर्फ जाने ड्रोन, तिनका मुख्य पार्टपुर्जा र प्रविधिमा निर्यात नियन्त्रण थप कडा बनाइने बताए।
चीनले जैवप्रविधि कम्पनी अप्लाइड डीएनए साइन्सेस र भू–विज्ञान अनुसन्धान संस्था स्टारट्रम रिजोभेयरसहित ६ अमेरिकी कम्पनीलाई प्रतिबन्ध सूचीमा राखेको छ। चिनियाँ अधिकारीहरूका अनुसार यी कम्पनीहरूले चीनको सिनजियाङ क्षेत्रसँग सम्बन्धित अमेरिकी प्रतिबन्ध कार्यान्वयनमा सहयोग गरेको आरोप छ। प्रतिबन्धपछि चिनियाँ व्यक्ति र संस्थाहरूलाई ती कम्पनीसँग व्यापारिक कारोबार, सहकार्य वा अन्य गतिविधि गर्न रोक लगाइएको छ।
सिनजियाङमा रहेका उइगर मुस्लिम समुदायमाथि मानवअधिकार उल्लङ्घन भएको आरोप संयुक्त राष्ट्रसंघलगायत विभिन्न निकायले उठाउँदै आएका छन्। चीनले भने यस्ता आरोपहरू अस्वीकार गर्दै आएको छ।
चीनको वाणिज्य मन्त्रालयले घरेलु प्रमाणीकरण निकायबाट हुने कारखाना अनुगमन प्रक्रिया पनि स्थगित गरेको छ। साथै केही अमेरिकी अनुपालन परीक्षण कम्पनीलाई कालोसूचीमा राखिएको र कार्यालयका फोटोकपी तथा प्रिन्टर आयातमाथि राष्ट्रिय सुरक्षा अनुसन्धान सुरु गरिएको जनाएको छ।
यसैबीच, चीनका वरिष्ठ व्यापार प्रतिनिधि हे लिफेङले अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग टेलिफोन वार्ता गर्दै पछिल्लो व्यापार प्रतिबन्धप्रति गम्भीर चिन्ता व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
अमेरिका र चीनबीचको व्यापार सम्बन्ध केही समय स्थिर देखिए पनि पछिल्लो निर्णयले पुनः तनाव बढाएको छ। यसअघि चीनले अमेरिकाले चिनियाँ कम्पनीहरूलाई दबाब दिने प्रयास गरिरहेको आरोप लगाएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।