काठमाण्डौ । नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आयोजना हुने स्थान परिवर्तन गरेको छ । कम्पनीले विशेष साधारण सभाको स्थल कारणवश परिवर्तन गर्दै भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।
कम्पनीको गत वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि उक्त सभा नेपाल पज्ञा प्रतिष्ठानमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त सभा पूर्व निर्धारित मिति अर्थात जेठ ४ गते बिहान ११ बजे आयोजना हुनेछ ।
उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै हकप्रद सेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि भई २ अर्ब ३० करोड १९ लाख ३८ हजार पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।