काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको १ अर्ब ८८ करोडको तुलनामा १२.२३ प्रतिशतले बढी हो ।
यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत ४.८६ प्रतिशतले बढेर ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो रकम ९३ करोड ६३ लाख रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७६ करोड रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात केही बढेको छ । अघिल्लो आवमा ३.९६ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.९८ प्रतिशत पुगेको छ ।
बैंकले कस्ट अअफ फण्ड पनि ४.२३ प्रतिशतबाट घटाएर ३.२७ प्रतिशत कायम गरेको छ । बैंकको सिडी रेसियो ७८.४५ प्रतिशत, बेस रेट ५.०४ प्रतिशत र रिर्टन अन इक्विटी(आरओई) १०.३६ प्रतिशत रहेको छ ।
चौथो त्रैमाससम्म बैंकको निक्षेप संकलन १ खर्ब ८४ अर्बबाट बढेर २ खर्ब २० अर्ब पुगेको छ । यस्तै कर्जा प्रवाह पनि १ खर्ब ४१ अर्बबाट बढेर १ खर्ब ६३ अर्ब पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १५.५९ रुपैयाँबाट वृद्धि भएर १७.४९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९.९ पीई रेसियो १४.१८ गुणा र तरलता अनुपात ३२.९३ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।