काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले आजै मात्र घोषणा गरेको लाभांश रद्द हुने भएको छ । नेपाल बीमा प्राधिकरणले एकै वर्ष दुईपटक लाभांश घोषणा गर्न नपाउने बताउँदै लाभांश रद्द हुने जनाएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकमबाट २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने वैशाख २३ गते बसेको सञ्चालन समितिको बैठकले निर्णय गरेको थियो ।
कम्पनीले आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकमबाट यो वर्षका लागि बोनस बाँँड्न नपाउने प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए ।
‘‘कम्पनीले तत्कालै सेयर प्रिमियमबाट बोनस बाँड्न पाउँदैन । त्यसमाथि कम्पनीले एक वर्षमा दुई–दुई वटा लाभांश प्रस्ताव गर्नु नियम विपरीत छ’ सिलवालले भने, ‘कम्पनीले प्राधिकरणलाई कुनै जानकारी नै नगराई लाभांश घोषणा गरेको छ, अब प्राधिकरणले पनि सोहीअनुसार नै कारबाही प्रक्रिया अघि बढाउँछ ।’
आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकम लेखा समितिमा छानबिनकै क्रममा रहेकाले उक्त रकम प्राधिकरणले जगेडा कोषमा सञ्चित गरेर राख्न निर्देशन समेत दिएको थियो ।
सिटिजन लाइफले प्राधिकरणको निर्देशन लत्याएर एकलौटी रुपमा आफुखुसी सेयर प्रिमियमबाट बोनस बाँड्ने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १।४२ प्रतिशत नगद लाभांश सेयरधनीलाई प्रस्ताव गरी गत माघ १४ गतेको ७औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
एउटै आर्थिक वर्षमा दुईपटक लाभांश घोषणा गर्न नपाउने र सेयर प्रिमियम रकम यो वर्ष चलाउन नपाउने अध्यक्ष सिलवालले बताए । ‘हामीले प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीलाई सो रकम तत्कालै नचलाउन निर्देशन दिइसकेका छौं, तर सिटिजन लाइफले प्राधिकरणको निर्देशन समेत टेरेन’ सिलवालले भने, ‘यसअघि आइएमई लाइफको हकमा पनि सेम केस थियो, तर हामीले सो कम्पनीको नगद लाभांश संशोधन गरिदिएका छौं ।’
सिटिजन लाइफका अधिकारीहरुसँग छलफल गरी उक्त प्रस्तावित लाभांश रद्द गर्ने सिलवालले बताए । प्राधिकरणको निर्देशन पालना नगरेकाले कारबाही समेत गर्ने सिलवालको भनाई छ ।
बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी पुर्याउन दबाद दिदैं आइरहेको छ । प्राधिकरणको वैशाख १४ गतेको चुक्तापुँजी सम्बन्धी पत्रानुसार सिटिजन लाइफको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयर प्रिमियम रकमबाट हाल विद्यमान चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीलाई ५ अर्ब चुक्तापुँजी पुर्याउन सकस परेपछि सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने प्रस्ताव अघि सारेको हो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                