मंगलवार, भाद्र ९,२०८३ 09:00:35
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 09:00:35
Bizshala
Global IME Bank Limited

पाँच प्रतिशतभन्दा बढी सेयर बेच्नुअघि १५ दिनको सूचना अनिवार्य, तीन महिनाभित्र बिक्री गर्नुपर्ने

संस्थापक सेयरधनीको ठूलो कारोबार अब गोप्य नरहने; कम्पनीमार्फत नेप्सेमा पूर्वसूचना सार्वजनिक गर्न बोर्डको निर्देशन

पाँच प्रतिशतभन्दा बढी सेयर बेच्नुअघि १५ दिनको सूचना अनिवार्य, तीन महिनाभित्र बिक्री गर्नुपर्ने
New Office

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको पाँच प्रतिशत वा सोभन्दा बढी हिस्सा बिक्री गर्नुअघि अनिवार्य रूपमा सार्वजनिक सूचना दिनुपर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीलाई निर्देशन जारी गर्दै त्यस्ता सेयरधनीले बिक्री गर्न चाहेको सेयरको विवरण कम्तीमा १५ दिनअगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।

कम्पनीले प्राप्त गरेको उक्त जानकारी नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ। यसरी सार्वजनिक गरिएको सूचनाको वैधता तीन महिनासम्म मात्र कायम रहने बोर्डले स्पष्ट पारेको छ।

यसको अर्थ, पाँच प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्ने आधारभूत सेयरधनीले पूर्वसूचना सार्वजनिक भएको तीन महिनाभित्र कारोबार गरिसक्नुपर्नेछ। उक्त अवधिमा बिक्री नभए पुनः निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने देखिन्छ।

धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी बोर्डले सूचीकृत कम्पनीहरूलाई दुईबुँदे निर्देशन जारी गरेको हो।

Bizshala
CG Motors

ठूलो परिमाणको बिक्री लुकाउन नपाइने

आधारभूत सेयरधनीले एकैपटक ठूलो परिमाणमा सेयर बिक्री गर्दा बजारमा सम्बन्धित कम्पनीको सेयर आपूर्ति बढ्न सक्छ। यसले सेयरमूल्य र लगानीकर्ताको मनोविज्ञानमा समेत प्रभाव पार्न सक्छ।

अब पाँच प्रतिशत वा सोभन्दा बढी सेयर बिक्रीको सूचना कम्तीमा १५ दिनअघि नै सार्वजनिक हुने भएकाले साधारण लगानीकर्ताले सम्भावित ठूलो आपूर्तिबारे पूर्वजानकारी पाउनेछन्।

यसअघि ठूला सेयरधनीको बिक्री योजना सर्वसाधारण लगानीकर्ताले समयमै थाहा नपाउँदा सूचनाको असमानता देखिने गरेको थियो। नयाँ निर्देशनले कम्पनीका भित्री तथा आधारभूत सेयरधनी र सर्वसाधारण लगानीकर्ताबीचको सूचना अन्तर कम गर्ने अपेक्षा गरिएको छ।

बोर्डको निर्देशनले ठूलो परिमाणमा हुने सेयर बिक्रीलाई निषेध भने गरेको छैन। तर त्यस्तो बिक्रीलाई पूर्वघोषणा, निश्चित अवधि र सार्वजनिक जानकारीको दायरामा ल्याएको छ।

सूचना दिएर अनिश्चितकालसम्म बजार प्रभावित गर्न नपाइने

बोर्डले बिक्रीसम्बन्धी सूचनाको वैधता तीन महिना तोकेको छ। यसले सेयरधनीले बिक्रीको सूचना सार्वजनिक गरेर लामो समयसम्म बजारमा अन्योल सिर्जना गर्ने सम्भावनालाई नियन्त्रण गर्नेछ।

सूचना प्रकाशित भएको तीन महिनासम्म मात्र त्यसका आधारमा सेयर बिक्री गर्न मिल्ने भएकाले लगानीकर्ताले ठूलो कारोबार हुन सक्ने सम्भावित समयसीमा पनि थाहा पाउनेछन्।

यसबाट कम्पनीका आधारभूत सेयरधनीको कारोबारमा पारदर्शिता बढ्नुका साथै बजारमा हुने सम्भावित अस्वाभाविक गतिविधिको अनुगमन गर्न नियामकलाई सहज हुने देखिन्छ।

कारोबार वा हस्तान्तरण गर्न नमिल्ने सेयरको विवरण सीडीएससीलाई दिनुपर्ने

बोर्डले सूचीकृत कम्पनीहरूलाई धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम १(ख) बमोजिम खरिद–बिक्री वा हस्तान्तरण गर्न–गराउन नमिल्ने धितोपत्रको विवरण सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

त्यस्ता धितोपत्रको कारोबार वा हस्तान्तरण रोक्न आवश्यक प्रणालीगत व्यवस्था गर्न सूचीकृत कम्पनीले नियम ३२ को उपनियम २ बमोजिम सीडीएससीलाई जानकारी दिनुपर्नेछ।

यसबाट बिक्री वा हस्तान्तरणमा कानुनी बन्देज रहेका सेयर भूलवश वा प्रणालीगत कमजोरीका कारण कारोबारमा जाने जोखिम नियन्त्रण हुने अपेक्षा गरिएको छ।

नयाँ निर्देशनपछि सूचीकृत कम्पनीहरूले ठूला सेयरधनीको बिक्री योजनालाई समयमै सार्वजनिक गराउनुपर्ने र कारोबार गर्न नमिल्ने सेयरको यकिन विवरण सीडीएससीमा अद्यावधिक गराउनुपर्ने जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.